समाज

टेकु कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई घाइते

फाइल तस्बिर

काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार आज साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा उक्त घटना भएको हो।

मैनालीले किशोरीको बायाँ खुट्टा जली ‘फ्याक्चर’ भएको तथा दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जनाइएको छ। दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २२ जेष्ठ २०७९ १५:११ आइतबार