जनचेतना र सूचना अभावमा मातृत्वको अवस्था दयनीय पाइएको छ। जिल्लाको विगत ३ वर्षको तथ्यांक केलाउँदा सुरक्षित मातृत्वबारे धेरै दम्पतीमा चेतना नै नपुगेको र सरोकारवालाले सूचना पुर्याउन नसकेको पाइएको हो।
सुरक्षित रूपमा प्रसूति नगराउँदा, गर्भवती/सुत्केरी अवस्थामा खोप, स्वास्थ्य जाँचलगायत सेवा नलिँदा मातृ–शिशु मृत्युदर उच्च देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत वर्ष ११ सुत्केरी र १५ नवजात शिशुको मृत्यु भएको छ। बर्सेनि ६ हजार प्रसूति भएको जिल्लामा मातृ र नवजात शिशु मृत्युको यो दर उच्च भएको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु साहले बताए।
‘६ हजार प्रसूति हुँदा ११ को मृत्यु हुनु सामान्य होइन,’ उनले भने, ‘कतिपय अवस्थामा सेवा लिने व्यक्तिलाई सुरक्षित मातृत्वबारे ज्ञान अभाव देखिन्छ भने कतिपय महिला प्रसूति भइसकेपछि नियमित जाँचमा नआउँदा मृत्युको मुखमा पुगिरहेका छन्।’ उनले सुत्केरीप्रति विभिन्न सामाजिक कुरसंस्कारले पनि महिलालाई मृत्युको मुखमा धकेलिरहेको बताए।
डा. साहले प्रसूति भएपछि पनि १५ दिन, १ महिना, ४५ दिन जस्तो अवधिमा आमा र शिशुको जाँच गर्नुपर्ने बताए। ‘अहिलेको तथ्यांक हेर्दा प्रसूति भएपछि यो जाँच नगराउने महिलाको संख्या नै धेरै छ,’ उनले भने, ‘प्रसूति भइसकेपछि महिलाहरू जाँच गराउनै आउनुहुन्न, उहाँहरू बरु आगो बालेर घरमै निसास्सिएर बस्नुहुन्छ, त्यसले झन् जोखिम बढाइरहेको देखिन्छ।’
त्यति मात्र होइन, स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने गर्भवतीको संख्या आव २०७८/७९ मा २६ प्रतिशत मात्रै छ। कार्यालयका सूचना अधिकारी विमल बरालले मानिसमा चेतना नपुगेकै कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या थोरै भएको बताए।
‘कतिपय महिलााई थाहा भएर पनि प्रसूति गराउन स्वास्थ्य संस्था आइदिँदैनन्,’ बरालले भने, ‘सरकारले प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याए पनि प्रसूति गराउन स्वास्थ्य संस्था पुग्ने महिलाको संख्याचाहिँ दयनीय नै देखिन्छ।’ आव २०७७/७८ मा यो संख्या २५ प्रतिशत थियो भने २०७६/७७ मा २२ प्रतिशत मात्र थियो।
जिल्लामा गर्भवती जाँच गराउनेको संख्या पनि थोरै छ। गर्भवती महिलाले कम्तीमा ४ पटक गर्भ जाँच गराउनुपर्ने चिकित्सक बताउँछन्। तर, आव २०७८/७९ मा जिल्लामा भएका गर्भवतीमध्ये पहिलोपटक जाँच गराउने ६६ प्रतिशत मात्र छन्। आव २०७७/७८ मा ५९ प्रतिशत र आव २०७६/७७ मा यो संख्या ६० प्रतिशत मात्र देखिन्छ।
चारै पटक नियमित जाँच गराउने गर्भवतीको संख्याचाहिँ आव २०७८/७९ मा ४३ प्रतिशत मात्रै छ। २०७७/७८ मा ३६ र त्यसभन्दा अघिको आवमा ३३ प्रतिशतले मात्रै गर्भवती भएका बेला कम्तीमा ४ पटक गर्भ जाँच गराएका थिए। सुत्केरी भएपछि पनि ४५ दिनभित्र आमा र शिशुको कम्तीमा ३ पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्छ। तर, यसरी जाँच गराउनेको संख्याचाहिँ चालु आवमा १० प्रतिशत मात्र देखिएको छ।
त्यसअघि यो प्रतिशत ७ र अघिल्लो वर्ष ४ प्रतिशत मात्र थियो। चिकित्सकका अनुसार महिलाको मृत्युको सबैभन्दा बढी संख्या यही बेला (प्रसूतिपछि ४५ दिनभित्र)को छ। कार्यालयका अनुसार गर्भवती अवस्थामा खानुपर्ने फोलिक एसिड र आइरन चक्की पनि चालु आवमा ३५ प्रतिशतले मात्र खाएको देखिएको छ। प्रसूति भइसकेपछि ४५ दिनसम्म खानुपर्ने फोलिक एसिड र आइरन चक्की खानेको संख्या पनि २० प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी बराल मातृशिशु मृत्युदर घटाउन स्वास्थ्य संस्थाको मात्रै सक्रियताले सम्भव नहुने बताउँछन्। ‘महिला र तिनका परिवार आफैं सचेत हुनुपर्छ,’ उनले भने, ‘मिडियामा आउने सूचनाहरू राम्रोसँग सुुन्ने–पढ्ने र आफूलाई थाहा नभएको विषयमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने गर्नुपर्छ।’ जिल्ला स्वास्थ्य प्रमुख आदित्य शाक्यले इलामका कतिपय गर्भवती नियमित जाँच र प्रसूति गराउन बाहिरी जिल्लाका अस्पताल पनि जाने गरेको बताए।
‘गतवर्ष करुणा फाउन्डेसनले गरेको सर्वेक्षणमा गर्भवती र प्रसूतिले बाहिरी जिल्लामा समेत गएर सेवा लिएको पाइएको थियो,’ उनले भने, ‘त्यतिबेलाको विवरण घरघरै गएर संकलन गरिएको थियो तर अरू बेलाचाहिँ जिल्लाकै स्वास्थ्य संस्थामा सेवा लिन आउनेको मात्रै तथ्यांक रहन्छ। सेवा लिन बाहिरी जिल्ला जानेको तथ्यांक हुँदैन।’
मातृशिशु मृत्युदर घटाउनेबारे सरोकारवालासँग छलफल गरिरहेको सप्तरीस्थित बुद्ध हेल्थ प्रोमोसन एजुकेसन सेन्टरका संयोजक लक्ष्मीनारायण देवले गाउँगाउँमा सुरक्षित मातृत्वबारे चेतना नपुगेको बताए। ‘धेरैजसोलाई त यसबारे चेतना नै छैन तर चेतना भएकाहरू पनि स्वास्थ्य संस्थामा पाइने सेवा लिन नआउँदा मातृशिशु मृत्युको जोखिम कायमै छ,’ उनले भने, ‘परिवार नियोजन (योजना) गर्ने दम्पतीमा सुरक्षित मातृत्वबारे चेतना हुनु आवश्यक छ।’
देवले सुरक्षित मातृत्वबारे चेतना फैलाउन आवश्यक देखिएका १ नम्बर प्रदेशका इलाम, झापा र सुनसरीमा अहिले आफूहरूले सरोकारवालासँग छलफल समेत गरिरहेको बताए। डा. साहले कुनै पनि देशको स्वास्थ्य अवस्था मातृशिशुको स्वास्थ्य अवस्थाले बताउने बताए। ‘मातृशिशु मृत्युदर जुन देशमा कम छ, त्यहाँको समग्र स्वास्थ्य अवस्था राम्रो छ भन्ने सूचक त्यही हो,’ उनले भने, ‘जहाँ मातृशिशु मृत्युदर बढी छ, त्यो देशको सम्पूर्ण स्वास्थ्य अवस्था दयनीय रहेछ भन्ने बुझिन्छ।’
नेपालमा सन् १९९६ मा मातृशिशु मृत्युदर प्रतिलाख ५८ रहेकामा सन् २०१६ मा यो दर प्रतिलाख २१ मा झरेको छ। सरकारले सन् २०३० मा यो दरलाई प्रतिलाख १२ मा झार्ने लक्ष्य लिएको छ। तर, यो लक्ष्य प्राप्त गर्न कठिन रहेको डा. साह बताउँछन्। प्रत्येक ५ वर्षमा संकलन गरिने यो तथ्यांक सन् २०१६ पछि सन् ०२१ सम्मको आउन बाँकी नै रहेको उनले जनाए।
मृत्यु भएका सुत्केरीमध्ये २० देखि २४ वर्ष उमेरसमूहका सबैभन्दा धेरै ३३ प्रतिशत छन्। मृत्यु भएकामध्ये ४० प्रतिशतको सुत्केरी भएको ४८ घन्टाभित्र मृत्यु भएको छ। ‘सुत्केरी महिलाको मृत्युचाहिँ सुत्केरीको कारणले भन्दा पनि नन् अब्स्ट्रेटिक (अरू बिराम)को कारणले देखिन्छ,’ डा. साहले भने, ‘यसरी मृत्यु हुनेको प्रतिशत ३९ प्रतिशत छ।’ मृत्यु भएकामध्ये गर्भवती वा सुत्केरीलाई अस्पताल लैजाँदा मृत्यु भएकाको प्रतिशत ३८ छ। ३५ प्रतिशतको मृत्युमा बढी रक्तश्रावको कारण देखिएको छ।
प्रकाशित: २२ जेष्ठ २०७९ ०४:२३ आइतबार