समाज

मतपेटिका लुटेर भाग्ने पूर्व प्रहरी पक्राउ

फाइलतस्बिर

वैशाख ३० गते मतदानको समयमा विवाद भएपछि मतपेटिका लुटेर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको जेठहरिया मतदान केन्द्रमा गत शुक्रबार मतदान भइरहेको समयमा विवाद भएपछि मतपेटिका लिएर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।  

मतपेटिका लुटेर भाग्ने यमुनामाई गाउँपालिका २ का ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन्। बैठा पूर्व प्रहरी भएको र एअरपोर्टमा तस्करी गराउने अपराधमा केही समय जेल सजाय पाइसकेको बुझिएको छ। कैद भुक्तान गरेपछि गाउँमै रहेका पूर्व प्रहरी बैठालाई रौतहट प्रहरीले घरबाटै पक्राउ गरेको हो। घरमै लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

बैठालाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम कानुनी कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:०८ शुक्रबार