समाज

गुरुङको सम्मानसहित अन्त्येष्टि

शान्ति सेनाको मिसनमा गएका बेला कंगोमा सहादत प्राप्त गरेका सुर्खेतका अनिल गुरुङको पार्थिव शरीर नेपाल ल्याएर सम्मानसाथ अन्तिम दाहसंस्कार गरिएको छ। बुधबार उनको पार्थिव शरीर गृह जिल्ला सुर्खेत पुर्‍याएर सम्मानसहित अन्तिम दाहसंस्कार गरिएको हो।

उनको शव मंगलबार नेपाल ल्याइपुर्‍याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पार्थिक शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

सोही समारोहमा प्रधानसेनापति शर्माले ‘मन्स्को मिसन’का फोर्स कमान्डरले पठाएको श्रद्धाञ्जलीपत्र र दाहसंस्कारका लागि नेपाली सेनाले प्रदान गर्ने रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको सैनिक मुख्यालयले जनाएको छ। त्यस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले फूलमाला चढाएका थिए। संयुक्त राष्ट्रसंघका तर्फबाट नेपालका लागि आवासीय संयोजक रिचर्ड हावर्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरे।

यस्तै उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्षसहितका सैनिक अधिकृतहरूले सहादतप्राप्त सैनिक गुरुङको पार्थिव शरीरमा फूलमाला चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरूप सलामी अर्पण गरेको थियो।

सो कार्यक्रममा गुरुङका परिवारका सदस्य पनि रहेको सैनिक मुख्यालयका सूचना अधिकारी सहायक रथी नारायण सिलवालले जानकारी दिए। सोही कार्यक्रमबीच पार्थिव शरीर आफन्तलाई हस्तान्तरण गरेर नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको थियो।

सुर्खेतमा बुधबारै गुरुङको अन्तिम दाहसंस्कार गरिएको छ। अन्तिम दाहसंस्कार गर्दा पनि त्यहाँस्थित नेपाली सेनाको टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो। सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का गुरुङ कंगोमा अपरेशन ‘बाली’ सञ्चालनका दौरानमा चैत २२ गते विद्रोही समुहको फाइरिङमा परेर घाइते भएका थिए। त्यसपछि उपचारका क्रममा उनको निधन भएको थियो। नेपाली सेनाका तर्फबाट शान्ति सेनामा गएका सैनिक प्युठ गुरुङ ‘नेप. क्युआरएफ कम्पनी (शान्ति सेना) पहिलो डफ्फा’मा कार्यरत थिए ।

प्रकाशित: १ वैशाख २०७९ ०५:३३ बिहीबार

कंगोमा सहादत प्राप्त अनिल गुरुङ दाहसंस्कार