समाज

भगवान् श्रीरामकी दिदीको प्रसंग

भगवान् श्रीरामका भक्तजनहरू धेरै छन् यो संसारमा। हिन्दु धर्मावलम्बीहरूका लागि पूजनीय भगवान् श्रीरामकी एउटी दिदी पनि छिन्, उनको नाम हो शान्ता। श्रीरामकी दिदी शान्ताको विषयमा त्यति चर्चा भएको पाइँदैन। त्यसैले होला सायद धेरैलाई श्रीरामकी पनि दिदी छिन् भन्ने थाहा नभएको हुन सक्छ। कति विचित्रको कुरा हो यो। राम, लक्ष्मण, भरत र शत्रुघ्नकी एउटी मात्र भएकी दिदी शान्ताले राज वैभव, दरबारको सुखसुविधायुक्त जीवन जिउने मौका भने त्यति पाइनन्।

शान्ताको विवाह जोसँग भयो, ती पुरुषको शिरमा एउटा सिङ रहेछ। त्यसो भए पनि शान्ताले आफ्ना पतिको सेवा गरेर आफ्नो धर्मको पालना गरिरहिन्। शान्ताबारे धेरै कम मानिसलाई मात्र थाहा भएझैं शान्ताका पतिले राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराएको र राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको कुरा पनि कम मानिसलाई मात्र थाहा छ।

अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र श्रीराम र त्यसपछि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नलाई संसारमा कसले चिन्दैनन् ? हरेक वर्ष विभिन्न धार्मिक पर्वमा श्रीरामलाई विष्णु भगवान्को अवतारको रूपमा व्यापक मान्ने गर्छन्। श्रीराम रानी कौशल्याका पुत्र हुन्। यो कुरा सबैलाई थाहा छ तर श्रीराम जन्मिनुअघि दशरथ र रानी कौशल्याको पहिलो सन्तानको रूपमा शान्ताले जन्म लिइसकेको कुरा धेरैले थाहा नपाएको रहेछ।

राजकुमारी शान्ता अत्यन्तै राम्री र सुन्दरी तथा मधुर वाणी भएकी सुलक्षणयुक्त थिइन्। माता कौशल्याले एक छिन पनि छोरीलाई नछोडी हुर्काएकी थिइन्। राजकुमारी शान्ता जन्मेदेखि नै सुनको झोलुंगोमा बसी हिरा, पन्ना, मणिमाणिक्य, जवाहरात, रत्न जडेको खेलौना खेल्दै हुर्केकी हुन्।

एकपटक राजा दशरथका अत्यन्तै मिल्ने साथी अंग देशका राजा लोमपाद अयोध्या आइपुगे। राजा दशरथले गरेको स्वागत सत्कारपछि ती लोमपादले राजकुमारी शान्तालाई देख्नेबित्तिकै उनमा पितृभाव र स्नेह जाग्दछ। अनि उनले मित्र दशरथसँग विनम्र भावले भन्छन्, ‘यो राजकुमारी त मलाई पुत्रीको रूपमा चाहियो।’ उनी निःसन्तान रहेछन्।

अनि फेरि भन्छन्, ‘ती पुत्री दिएर मलाई सन्तानसुख गराऊ। म भरोसा गर्छु कि तिमीले मलाई निराश गर्दैनौ भनेर।’ राजा दशरथले नाइँ भन्न सक्दैनन्। अत्यन्तै गाह्रो काम तापनि रानी कौशल्या तयार हुन्छिन्। आफ्ना श्रीमान्को इच्छाअगाडि आफ्नो सन्तानको वियोग सहन मुस्किलले तयार हुनुपर्‍यो कौशल्यालाई। अत्यन्तै राम्रो साइत, राम्रो समय पारेर राजा दशरथ र रानी कौशल्याले अंग देशका राजा लोमपादलाई आफ्नी प्राणप्यारी पुत्री शान्ता अर्पण गरिदिन्छन्। त्यसपछि राजकुमारी शान्ता आफ्ना मातापिता, राजमहल, साथीहरू सबैसँग बिदा लिएर अयोध्या छाडेर जान्छिन्।

राजकुमारी शान्ता अंगराजको महलमा सुखपूर्वक हुर्किन्छिन्। त्यहीँको धुलोमा खेल्दाखेल्दै हुर्केर तरुनी हुन्छिन्। राजकुमारी शान्ता तरुनी हुनेबित्तिकै राजा लोमपादले उनको विवाह विद्वान् ऋषि कश्यप गोत्रीय मुनि विमाण्डकका पुत्र ऋष्यश्रृंगसँग गरिदिन्छन्।

यो विवाह पनि त्यसै भएको होइन। यसको पनि कारण छ। त्यो हो, ऋष्यश्रृंगले गरेको अनिकाल निवारण यज्ञ। अंग देशमा भयानक अनिकाल हुँदा सम्पूर्ण प्रजाजनहरूले धेरै दुःख पाए। त्राहित्राहि भन्दै कराउँदै हिँड्न थाले। भोकाएका, तिर्खाएका र अन्नजलको अभावले संकट यतिसम्म बढ्दै गयो कि राजाको भण्डार पनि खाली हुन पुग्यो। यस्तो आपत्विपद्बाट पार पाउन राजा लोमपादलाई ऋषिहरूले सल्लाह दिए कि, यस्ता एक ब्राह्मण ऋषि जसले स्त्रीको मुखै नदेखेको हुनपर्छ, न उनले स्त्रीलाई छोएको होस्, यतिसम्म कि उनलाई स्त्रीबारे केही पनि ज्ञान नभएको हुनुपर्छ। त्यस्ता व्यक्तिले यदि अनिकाल निवारण यज्ञ गरे भने सुक्खायाम समाप्त हुन्छ। अनि यो आपत्विपद्को समस्या समाधान हुनेछ।’

त्यसपछि राजा र ऋषिहरूले त्यस्ता ऋषि खोज्न थाले। खोज्दाखोज्दै जंगलमा तपस्या गरिरहेका ऋषि ऋष्यश्रृंग भेटिए। तिनै ऋषिलाई अंग देशको चम्पा नगरमा ल्याएर यज्ञ गराए। जब यज्ञको पूर्णाहुति भयो, अर्थात् समापन भयो तब आकाशमा बादल गर्जिएर वर्षा हुन थाल्यो। त्यसपछि राजाप्रजा सबैमा हर्षको सीमा रहेन, सबै नाच्न थाले। यसै खुसियालीमा राजा लोमपादले हर्षित भई ऋष्यश्रृंगसँग शान्ताको विवाह गरिदिए। यसरी रामकी दिदी राजकुमारी शान्ता राजमहल छोडेर आफ्ना पति ऋष्यश्रृंगको जंगलमा रहेको आश्रमपर्णकुटीु मा बस्न थालिन्।

को हुन् ऋष्यश्रृंग ? कहाँ जन्मेका हुन् उनी? कहाँबाट आएका थिए ? को हुन् उनका आमाबाबु ? यो कुरा थाहा पाउन पनि आवश्यक छ। ऋष्यश्रृंग वास्तवमा एउटा हिरणको पेटबाट जन्मेका हुन्। एक पटक मुुनि विभाण्डक जलाशयमा स्नान गरिरहेक थिए। त्यही बेला त्यहाँ स्वर्गकी अप्सरा उर्वशी पनि आएर जलक्रीडा गर्न थालिन्। ती अप्सरालाई देखेर मुनि विभाण्डक केही बेरमा कामातुर हुनपुगे। अनि उनको सन्तानोत्पादक अंश वीर्य जलाशयमा खस्न पुग्यो। त्यहीँ पानी खान आएको एउटा पोथी हिरणले पानीसँगै त्यो वीर्य पनि खाइदियो।हिरण गर्भवती भयो अनि उसको गर्भबाट मान्छेको जन्म भयो।

तर त्यो बच्चाको टाउकोमा एउटा सिङ पनि पलायो। मुनि विभाण्डकलाई थाहा भयो कि त्यो बच्चा उनैको आफ्नै हो भनेर। उनले बच्चालाई आश्रममा ल्याए। त्यो बच्चाको टाउकोमा सिङ भएकाले उनले छोराको नाम ऋष्यश्रृंग भनेर राखे। ती बच्चा पछि गएर वेदशास्त्र र ज्योतिष शास्त्रका ज्ञाता भए। उनैले आफ्नी श्रीमती राजकुमारी शान्ता र ससुरा लोमपादको विशेष आग्रहमा अयोध्याका राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराएका थिए। त्यसैको प्रभावस्वरूप राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको थियो।

राजकुमारी शान्तालाई जन्म दिने रानी कौशल्या पुनः आमा बनिन्। राजा दशरथका अन्य रानी कैकेयी र सुमित्रा पनि गर्भवती भए। यसपछि राम, लक्ष्मण, भरत र शत्रुघ्नका दिदी शान्ताको वर्णन कतै देखिँदैन। वाल्मीकि रामायणमा अंग देशका राजा लोमपादको नाम रोमपाद भनिएको छ। यो प्रसंगमा केही लोकोत्ति, कथा पनि गाँसिएको छ। रामायणमा राजकुमारी शान्ताको प्रसंग वर्णन गरिराखेको नभए पनि भगवान् रामकी एक मात्र दिदी शान्ता हुन् भने भिनाजु ऋष्यश्रृंग नै हुन्।  

प्रकाशित: २७ चैत्र २०७८ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App