नेपाल–भारतबीच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष प्रदेश १ मा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।
प्रदेशको इलाम, झापा, मोरङ र सुनसरीका क्षेत्रबाट बढी मात्रामा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन्। खुला सीमा र दुई मुलुकबीच जोडिएको बस्तीको फाइदा उठाउँदै लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीले प्रदेशका मुख्य नाकामा कडाइ गरे पनि खुला सीमाका कारण अन्य क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसक्दा कारोबारी र प्रयोगकर्तालाई फाइदा पुग्ने गरेको हो।
मोरङसँग ६३ किलोमिटर खुला सीमा र दुवैतर्फ जोडिएको बस्तीलाई लागुऔषध कारोबारीले प्रयोग गरेका छन्। लागूऔषधको कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ। पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको हो। कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन्।
१५ देखि ३५ वर्षसम्मका युवायुवतीहरु बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला पुरुष लागु पदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन्। प्रदेश १ को झापाको काँकरभिट्टा, सुनसरीको भन्टाबारी र मोरङको जोगबनी, रंगेली नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ को माघ महिनासम्म ४ सय २७ वटा लागुऔषध कारोबारका मुद्दा दर्ता भएका छन्। ५ सय ७९ पुरुष र ३४ जना महिला पक्राउ परेका छन् भने ११ पुरुष र १ महिला फरार रहेका छन्। २०७७/०७८ मा ६ सय ८० मुद्दा दर्ता भए भने ९ सय ७२ पुरुष र ७३ महिला गरी १ हजार ४५ जनालाई पक्राउ परे। यस्तै २०७६/०७७ मा ५ सय ३० वटा मुद्दा दर्ता भए भने ७ सय ६१ पुरुष र ३५ महिला गरी ७ सय ९६ जना पक्राउ परे। आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ८१ वटा मुद्दा दर्ता भए भने ८ सय २४ पुरुष र २४ महिला गरी ८ सय ४८ जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने आइसलगायत चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्स जस्ता लागुऔषध बढी कारोबार हुने गरेको छ।
नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसल छयाप्छप्ती बिक्री हुन्छ। प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले लागुऔषध कारोबार र प्रयोगकर्ता १५ देखि ४५ वर्षसम्मका अधिकांश भेटिएका छन्। उनका अनुसार १५–३५ वर्ष उमेर समूहकाहरु लागु पदार्थ आफू पनि सेवन गर्ने र कारोबार गर्ने गरेका छन्। २५–४५ वर्ष उमेर समूहकाहरु लागु पदार्थको कारोबार मात्रै गर्ने गरिएको भेटिएको छ।
उनीहरु पारिवारिक तनाव, आर्थिक समस्या र साथीहरुको संगतमा लागेर यसमा फस्ने गरेका छन्, डिआइजी बिसीले भने। ‘लागुऔषध कारोबार र प्रयोगकर्तालाई नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गरेका छौं,’ डिआइजी बिसीले भने, ‘प्रहरीले सामाजिक अगुवाहरुसँगको समन्वयमा लागु पदार्थविरुद्ध जनचेतना मूलक कार्यक्रम, विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीहरुलाई बुझाउने गरेका छौं।’
नेपाल–भारत दुवै देशमा लागु पदार्थ ओसारपसार हुने गरेको छ। प्रदेश १ बाट भारततर्फ अत्याधिक गाँजा जाने गरेको पाइएको छ। भारतबाट विभिन्न किसिमका लागु पदार्थ यहाँ भित्रिने गरेको डिआइजी बिसीले बताए। लागु पदार्थ कारोबारीले भारतलाई ट्रान्जिट बनाएर नेपाल ल्याउने गरेका छन्। प्रदेश १ को विशेष गरी भोजपुर, धनकुटा र उदयपुरमा गाँजा खेती हुने गरेको छ। त्यस क्षेत्रका प्रहरीले गाँजा फडानी गर्दै आए पनि उनीहरुले लुकाएर खेती गर्न नछाडेको बताउँदै डिआइजी बिसीले भने, ‘गाँजा कारोबारीले कोसी नदीलाई प्रयोग गरेर भोजपुरलगायत पहाडी क्षेत्रबाट सुनसरी र गाईघाट हुँदै ल्याउने गरेका छन्।’
कारोबारीले गाईघाटबाट मधेस प्रदेश हुँदै र मोरङ तथा सुनसरीको नाकाबाट भारत लैजाने गरेका छन्। लागु पदार्थ ओसारपसार र प्रयोग नियन्त्रणका लागि विशेष छुट्टै युनिट बनाएर काम भइरहेको छ। डिआइजी बिसीले कोभिडको महामारीले गर्दा पछिल्लो समय भने अनुसारको काम गर्न नसकिएको र कोरोना संक्रमण कम हुँदै गएकाले लागु पदार्थ कारोबार तथा प्रयोग नियन्त्रणका लागि सुनसरी, मोरङ र झापामा काम थालिसकेको छ।
पूर्व एक लागुऔषध प्रयोगकर्ताले भने, आफ्नो छोराछोरी कहाँ जान्छन्? के गर्छन् भन्ने कुरा अभिभावकले राम्रोसँग बुझ्नु पर्दछ। कुलतमा फस्न नदिन अभिभावको महत्वपूर्ण भूमिका हुन्छ। विद्यालय तथा उच्च शिक्षा अध्ययनका विद्यार्थीलाई शिक्षकले लागुऔषधका बारे राम्ररी सम्झाउने बुझाउन गर्नुपर्छ। लागुऔषध प्रयोग र कारोबारलाई निरुत्साहित गर्न प्रहरीका साथै अभिभावक, सामाजिक अगुवा र विभिन्न संघसंस्था सक्रिय भएर लाग्नु जरुरी रहेको छ।
प्रकाशित: १७ चैत्र २०७८ १४:५३ बिहीबार