समाज

अवैध कल सेन्टर संचालक चिनियाँं नागरिक पक्राउ

भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत् सानो-सानो मात्रामा (५–१० हजार सम्म) ऋण लगानी गरी उक्त ऋणको निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टरमार्फत् सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने एकजना चिनियाँं नागरिकलाई मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

वर्ष २९ को वानजीनाओ नामको चिनियाँ नागरिकलाई जिल्लाको सानोठिमीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी विगत केही समयदेखि सन सिटी अपार्टमेन्टको रुम नं. १२०६ मा बस्दै आइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

उनले नेपाली युवायुवतीहरु प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सानोठिमीस्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिई उक्त कार्य संचालन गर्ने १ जना चिनिया नागरिकसहित ८० जनालाई (४७ जना महिला र ३३ जना पुरुष) नियन्त्रणमा लिएको पाण्डेले जनाएको छ।

साथै, उक्त कार्य संचालन गर्न प्रयोग भएका उपकरणहरु (डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान) समेत नियन्त्रणमा लिएको उनले जनाए। अन्य अनुसन्धान कार्य जारी रहेको जनाइएको छ। 

प्रकाशित: १० फाल्गुन २०७८ ११:१४ मंगलबार