समाज

म्याग्दी प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना।

बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ। दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गरेका छन्।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक स्रोत, बेनी नगरपालिकाको वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोग जुटाएर प्रहरी कर्मचारीलाई परिचालन गरेर कक्ष बनाएको बताए। हिरासत अगाडि थुनुवा भेटघाट कक्ष बनाइएको छ। यसअघि खुल्ला आकाशमुनी बस्ने गरेका थिए। झरीमा छाता ओढ्नुपर्ने र गर्मीमा घामले पोल्ने समस्या हटेको छ।

यसैगरी प्रहरी कार्यालयको आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर हल बनाइएको प्रनाउ राईले बताए। ‘बहुउद्देश्यीय सो सभाहललाई बैठकका अतिरिक्त आवासमा पनि प्रयोग गर्न सकिन्छ, थुनुवालाई भेट्न आउनेहरुलाई सहज हुन्छ’, उनले भने। उद्घाटनपछि प्रजिअ रानाले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, योजना निर्माण र थुनुवा भेटघाटका लागि आउने सेवाग्राहीलाई नयाँ बनेका पूर्वाधारले सहज हुने बताए।

बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पूर्वाधार बनाउन सघाएको बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले समेत मन्तव्य राखेका थिए। उद्घाटन कार्यक्रममा थुनुवा र भेटघाट कक्षको अभावका कारण सेवा लिनका लागि समेत असहज हुने गरेको अवस्थामा अब सेवाग्राहीलाई सहज भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ माघ २०७८ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App