समाज

चोरीमा संलग्न ६ जना पक्राउ

विराटनगरको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र सिटी सफारी चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१५ स्थित महेन्द्र चोकबाट को १ ह ३४०९ नम्बरको सिटी सफारी पुस १४ गते चोरी भएको थियो। उक्त सिटी सफारी चोरीमा संलग्न भएको आरोपमा २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ।

विराटनगर–१४ का २५ वर्षीय मो.जावेद र सोही ठाउँका २२ वर्षीय संजीव साहलाई सिटी सफारी चोरी गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनीहरुलाई विराटनगर–१८ स्थित फडानीबाट सिटी सफारीसहित पक्राउ गरी चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले जनाकारी दिए।

त्यस्तै पुस ८ गते विराटनगर–७ रंगेली रोडबाट को २३ प ८८११ नम्बरको मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सुनसरी दुहबी नगरपालिका–४ का २२ वर्षीय समिर मियाँ, मोरङको बेलबारी नगरपालिका–११ का २० वर्षीय सागर लिम्बू, सोही ठाउँका २२ वर्षीय सनम मगर र विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नितेश मेहतालाई पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।

मोटरसाइकलसहित पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ पुस २०७८ १४:०९ शुक्रबार

पक्राउ