समाज

मनाइयो योमरी पुन्ही

घरघरमा योमरी पकाएर खाई शनिबार देशभरका नेवार समुदायले योमरी पुन्ही मनाएका छन्। नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो। यसरी योमरी पुन्ही भन्नाले मनपर्ने रोटी खाएर मनाइने पर्व हो।  

प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवारहरु योमरी पुन्ही मनाउँछन्। चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ।  

योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ–आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन्। योमरीका साथ भोज खाँदा नियमित जस्तो भोजन गर्ने चलन छैन। यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ।  

पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ। यस क्रममा घरका महिलाहरु सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन्। साथै, बालबालिकाहरु यो दिन मिठोमसिनो खाई रमाउँछन्।

कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ। योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ उनको छ।  

योमरी पुन्ही एक दिनमै सकिंदैन। पर्वको चार दिनपछि विवाहिता छोरीहरु बोलाई सबैलाई लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ। पर्वको चार दिनपछि छोरीबेटीलाई बोलाएर योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा जस्ताको त्यस्तै छ। पर्वका दिन उनीहरु योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ।

कसरी बनाइन्छ योमरी ?

योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो। चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ। पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ। योमरीभित्र चाकु राखिएको हुन्छ। कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइएको हुन्छ। वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ।

प्रकाशित: ४ पुस २०७८ १२:४१ आइतबार