समाज

उदयपुरका युवालाई ठग्ने गोर्खाली विराटनगरबाट पक्राउ

युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्ने एकजना पक्राउ परेका छन्। युवाहरुलाई जागिर लगाइ दिने प्रलोभन दिएर पटक पटक रकम ठगी गरेको आरोपमा गोर्खाको लन गाउँपालिका २ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेका हुन्।

उनले उदयपुरको त्रियुगा नगरपालिका ८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारलाई जागिर लगाइदिने आश्वासन दिँदै पटकपटक रकम लिएको उजुरी परेको छ। पीडितको उजुरीका आधारमा १ नं. प्रदेश प्रहरी कार्यालयले विराटनगर महानगरपालिका १० बसपार्कबाट अर्याललाई मंगलबार विहान पक्राउ गरेको हो।

प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ। उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

जिल्ला प्रहरी मोरङको नियन्त्रणमा राखिएका उनीमाथि जिल्ला अदालतको आदेश अनुसार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। अर्यालमाथि ठगी मुद्धामा कारबाही गर्ने गरी प्रक्रिया अघि बढाइएको एपसी राईले बताएका छन्।

प्रकाशित: २९ मंसिर २०७८ ०८:५३ बुधबार

प्रदेश प्रहरी