समाज

अवैध डलर कारोबारीको यात्राशैलीः पोखरा आउँदा माइक्रोमा, फर्किंदा जहाजमा

झन्डै दुई लाख अमेरिकी डलर बोकेका युवक पक्राउ

पोखरामा अमेरिकी डलरसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै कास्की प्रहरी। तस्बिरः नागरिक

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङ, ४२, बारम्बार पोखरा–काठमाडौं आउजाउ गर्दथे। काठमाडौंबाट प्रायजसो सार्वजनिक गाडीमा पोखरा आउने र फर्किने बेला जहाजमा उनी यात्रा गर्दथे।

त्यही क्रममा गुरुङ शुक्रबार पनि काठमाडौंबाट सार्वजनिक गाडी चढेर पोखरा आउँदै थिए। तर, शुक्रबार उनी पोखरा आइनपुग्दै राजमार्गमै प्रहरीको फन्दामा परे। प्रहरीले सुराकीको आधारमा राजमार्गमा गाडी चेकजाँच गरिहेको बेला उनी सवार माईक्रोबस पोखरा महानगरपालिका–३३ मझुवामा चेकजाँचमा परेको थियो। त्यहीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर फेला पारेको छ। सार्वजनिक सवारीमा आएका उनलाई प्रहरीले कास्की प्रवेश गर्नासाथ पक्राउ गरेको थियो।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार प्रहरी टोलीले शुक्रबार पौने दुई बजे उनी चढेको माइक्रोबस पोखरा प्रवेश गर्नासाथ चेकजाँच गरेको त्यहीबाट गुरुङलाई पक्राउ गरेको हो। विदेशी अवैध रकम कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा गुरुङलाई पक्राउ गरेको डिएसपी तिवारीले जानकारी दिए।

डिएसपी तिवारीका अनुसार गत अक्टोवर ३० मा पनि उनी पोखराबाट जहाज चढेर काठमाडौं फर्केका थिए। सोधपुछका क्रममा यसअघि पनि पोखरामा यस्तै कारोबार गर्न आएको उनले प्रहरीसमक्ष बताएका छन्। तर, त्यो बेला कति रकम ल्याएर कसलाई बुझाएको भन्नेबारे खुलेको छैन। तर, उनीसँगको जहाजको टिकटको आधारमा अनुसन्धान गर्दा उनी पोखरा आउँदा सार्वजनिक गाडीमा आउने र फर्किदा जहाजमा फर्किने गरेको खुलेको छ। त्यो क्रम चलिरहँदा एक महिना अघि पनि उनले केही अमेरिकी डलर पोखरामा ल्याएर छाडेको अनुमान छ।

तिवारीका अनुसार गुरुङको साथबाट ५० अमेरिकी डलरको ७२ वटा नोट फेला परेका छन् भने १०० अमेरिकी डलरको १ हजार ९ सय ६ वटा नोट फेला परेका छन्। सबैगरि १ लाख ९४ हजार २ सय डलर (नेपाली मूल्य अनुसार २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ) उनको साथबाट फेला परेको छ।

‘गाडीको सिटमुनि निकै नै बलियो हुनेगरि टेपले बाँधेर उक्त रकम ल्याएको अवस्थामा फेला पारिएको छ,’ उनले भने। डिएसपी तिवारीका अनुसार दुईवटा बन्डलमा उनले त्यो रकमलाई पोको पारेका थिए। सार्वजनिक सवारीमा आउजाउ गर्दा पैसा ल्याउने र लैजाने गर्न सहज हुने ठानेर यात्रा गरेको प्रहरीको अनुमान छ।

गुरुङको साथबाट फेला परेको डलर सक्कली वा नक्कली भन्ने परीक्षणका लागि प्रहरीले नेपाल राष्ट्र बैंकबाट प्राविधिक र मेसिन नै ल्याएर डलर परीक्षण गर्दा सक्कली पुष्टि भएको डिएसपी तिवारीले बताए। ‘राष्ट्र बैंकबाट प्राविधिक र मेसिन नै ल्याएर परीक्षण गर्दा पनि सक्कली देखिएको छ। मेसिनले सबै नोटलाई सक्कली देखाएको छ,’ उनले भने।

संगठित अपराध वा गैरकानुनी लगानीका लागि रकम ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। तर, अनुसन्धान अझै बाँकी रहेकोले कुन प्रयोजनमा र कसका लागि यत्ति ठूलो आकारमा रकम ल्याएको भन्ने नखुलेको डिएसपी तिवारीले जानकारी दिए। वन्यजन्तु, सुन तस्करी जस्ता अवैध गतिविधिमा यस्तो रकम दूरुपयोग हुनसक्ने सम्भावना रहने प्रहरीको अनुमान छ।

‘अवैध गतिविधिमा बाहेक अन्य काममा यतिठूलो रकम ल्याउने भन्न हुँदैन,’ उनले भने। उनका अनुसार पक्राउ परेको रकमसहित गुरुङलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागलाई बुझाउने प्रहरीको भनाई छ। ‘कसैका लागि ओसारपासमा मात्र उपयोग भएको हो वा आफै कारोबारी भन्ने खुलेको छैन,’ डिएसपी तिवारीले भने, ‘अनुसन्धान बाँकी नै छ। काठमाडौं–पोखराबीच कुनै न कुनै खालको कनेक्सन रहेको हामीले अनुमान गरेका छौ। यसबारे अध्ययन हुनेछ।’

प्रहरीले नगद बाहेक गुरुङको साथबाट दुईवटा मोवाइल, चेकबुक र नागरिकता पनि फेला पारेको छ। गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाही हुने प्रहरीको भनाई छ। एकहजार अमेरिकी डलर भन्दा बढी रकम बोकेर हिड्न राष्ट्र बैंकको अनुमति चाहिने भएपनि त्यो अनुमति पनि गुरुङको साथबाट फेला परेको छैन।

‘ठूलो आकारको डलर कारोबारीको आशंका भएपनि त्यसको श्रोत र प्रयोजन भने अहिलेसम्म यकिन हुन नसकेको पनि डिएसपी तिवारीले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७८ ११:०४ शनिबार

अवैध डलर कारोबारी पोखरा