समाज

भुपेन्द्रको हत्याका योजनाकार लगायत एक दर्जन अझै पक्राउ परेनन्

लम्कीचुहा नगरपालिका १ का २२ बर्षिय भुपेन्द्र बडुवालको हत्या गर्ने मुख्य योजनाकार लगायत एक दर्जन एक साता बित्दा पनि पक्राउ परेका छैनन्। घरवाट बोलाएर घेरा हालि लखेटी लखेटी २०, २५ जनाको संख्यामा रहेको अपराधिक समुहले भुपेन्द्रको हत्या गरेको थियो। 

एक साता बित्दा पनि भुपेन्द्रको हत्या गर्नुको कारण प्रहरीले पत्ता लगाउन सकेकौ छैन भने पहिचान भईसकेका हत्याका मुख्य योजनाकार भनिएका नविन रावल लगायतका हत्यामा संलग्न एक दर्जन लाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन। प्रहरीले भुपेन्द्रलाई खुकुरी प्रहार गर्ने आर्यन देवकोटा लगायत ९ जनालाई भने पक्राउ परेको छ। भुपेन्द्रका वुवाले १६ जनाका नाममा किटानी उजुरी दिएका थिए। किटानी उजुरी दिएका मध्य ७ जना पक्राउ परेका छैनन्। 

यसैगरि हत्यामा संलग्न अन्य ६ जनाको पहिचान भैसकेको र किटानी उजुरी दिने तयारी गरिएको वुवा डम्वर बडुवालले बताएका छन्। ‘छोराको हत्यामा २५ जना जतिको संलग्नता रहेको छ, १६ जनाको नाममा किटानी उजुरी दिईसकिएको छ, थप ६ जनाको पहिचान भएको छ, २५ दिनभित्र अरुको नाममा पनि किटानी दिने तयारी गरेको छुँ’ बडुवालले भने। पहिचान भएर पनि मुख्ययोजनाकार लगायतलाई प्रहरीले पक्राउ नगर्नुले अपराधीलाई संरक्षण गर्न खोजीएको आशंका आफन्तले गरेका छन्। 

‘८ दिन भैसक्दा पनि हत्याका मेन नाईकेहरु पक्राउ नगरिनुले अपराधीलाई संरक्षण गर्न खोजीएको आशंका पैदा भएको छ’मृतकका आफन्त संविधान शभा सदस्य भगत बडुवालले भने। यस अघि पनि कयौलाई खुकुरी प्रहार गरेका यि युवाहरु खुल्लम खुला हिड्दा पनि प्रहरी प्रशासनले पक्राउ गरेर कारवाही नगरिएकोले भुपेन्द्रको हत्या भएको उनको भनाई छ। 

अझै पनि हत्यामा संलग्नहरुलाई पक्राउ नगरिए समाज पुरै असुरक्षित हुने र भुपेन्द्रको जस्तो हविगत धेरैले भोग्नुपर्ने उनी बताउँछन्। यो अपराधिक गिरोहमा संलग्नहरुको राजनीतिक पहुँच पनि भएकाले संरक्षणमा अपराध गर्ने गरेको उनको भनाई छ। फरारहरुको खोजी भैरहेको प्रहरीले बताएको छ। भुपेन्द्र हत्याको घटनालाई प्रहरीले गंभिर रुपमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताएका छन्।  

ईलाका प्रहरी कार्यालय टिकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रहरी निरिक्षकको नेतृत्वमा केन्द्रिय अनुसन्धान व्यूरो सिआईवीको प्राविधिक टोलीले पनि अनुसन्धान गरिरहेको छ। अपराधमा संलग्न संगठित गिरोहले योजनाबद्ध रुपमा घटना घटाएको आकलन गरेर प्रहरीले गंभिर रुपमा यो घटनाको अनुसन्धान गरिरहेको छ। हत्यामा संलग्न मध्य २ जना प्रहरी अधिकारीका आफन्त पनि रहेको श्रोतले बताएको छ

लम्कीका नविन रावल र टीकापुरका जयन्द्र शाहीका दुई समुहहरु संगठित रुपमा क्रियाशिल रहेको जानकार बताउँछन्। यि दुई समुहका युवाहरुले खुल्लम खुला हतियार वोक्ने गरेका छन्। दुवै समुहमा गरेर करिव ५०, ६० युवाहरु संगठित भएर अपराधिक गतिबिधीमा सक्रिय रहेको श्रोतले बताएको छ। यिनले धम्काएर चन्दा, फिरौती र ठेकापट्टामा कमिशन माग्ने गरेको उनी बताउँछन्। संगठितरुपमा अपराधिक समुह सक्रिय हुदाँ टीकापुर, लम्की क्षेत्रका वासिन्दा त्रसित बनेका छन।

घटना यस्तो थियो

भुपेन्द्र मंगलवार राती खाना खाएर घरमै थिए। उनको साथी कपिल श्रेष्ठले अफ्ठ्यारोमा परेको भनेर सहयोगको लागी लगातार फोन गरेर उनलाई टीकापुर वोलाए। २७ पटक उनले फोन गरेको कल रेकर्ड रहेको छ। 

साथीले चलाएको मोटरसाईकल पछाडी वसेर करिव १४ किलोमिटर दुरीमा रहेको टिकापुर स्थित कपिलले वोलाएको केरावारी भन्ने ठाउँमा उनी पुगे। त्याहाँ ८, १० मोटरसाईकल देखेपछि संभावित खतरा आकलन गरी भागेर सिद्धार्थ होटेल नजिक आफन्तको घर तर्फ जादै थिए। 

योजनाबद्ध रुपमा पहिले घेरा हालेको युवा समुहले गेट भित्र पुग्न नापाउदै लखेटी लखेटी क्रुर ढंगले छोराको हत्या गरेको उनका वुवा डम्वर बडुवालले बताए। २०, २५ जनाको समुहमा रहेका युवाहरुले लख्टदै बिभत्स ढंगले हत्या गरेको उनले बताए। गुण्डा समुहका मेन नाईके नविन रावल र लोकजन शाहीले दशैँअघि एक रिसोर्टमा वोलाएर हतियार देखाएर आफ्नो समुहमा लाग्न भुपेन्द्रलाई धम्की समेत दिएको उनको भनाई छ।

प्रकाशित: १ मंसिर २०७८ ११:३४ बुधबार

भुपेन्द्र बडुवालको हत्या पक्राउ