समाज

अस्थायी, करार र ज्यालादारी कर्मचारीद्वारा स्वतः स्थायी गर्न माग

अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गरेका छन्।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ समक्ष सो माग गरेको हो।

संघले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा ‘राज्यकोषबाट तलब खाइ रहेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई उमेरको हदबन्दी नलाग्ने गरी एकपटकको लागि लोकसेवा खुल्ला गराई स्वतः स्थायी गर्न’ उल्लेख गरेको छ।

उनीहरुले निजामति कर्मचारीहरुको समायोजन तथा पदस्थापन गर्दा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई रोजगारीबाट नहटाउने गरी पदस्थापन गर्नुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरेका छन्। उनीहरुले संघीय निजामति सेवा नियमावली संसोधन गराउँदै निजमति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सहभागी गराइ अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई सो सरहको सेवा सुविधा उपलब्ध गराउन पनि मन्त्रीको ध्यानकर्षण गरेका छन्।

उनीहरुले नेपाल सरकारका केही कार्यालयहरुमा अझै पनि नेपाल सरकारले तोकेको सुरु स्केल पारिश्रमिक, महंगी भत्ता तथा अन्य सेवा सुविधा लागू नभएकाले तत्काल उक्त सुविधासहितको पारिश्रमिक लागू गराउन पहल गर्न पनि मन्त्रीसमझ अनुरोध गरेका छन।

उनीहरुले सरकारी कार्यालयहरुमा ठेकेदारीबाट कर्मचारी भर्ना गर्ने प्रथा अन्त्य गर्न समेत माग गरेका छन् । त्यसको सट्टा कार्यालयलाई कर्मचारीहरु आवश्यक भएमा कार्यालयबाट नियुक्ति दिई कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न पनि माग गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०७८ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App