समाज

कर्णालीले गास-बास दुवै बगायो

टीकापुर नगरपालिका–८ अर्नुवामा बाढीले भत्काएको घर। तस्बिर: नागरिक

कर्णालीको बाढीले टीकापुर नगरपालिका–८ मा मात्रै करिव आठ सय घरपरिवार विस्थापित भएका छन्। बाढीले उनीहरु मध्ये सबैको गासबास बगाईदिएको छ। उनीहरु यतिबेला विद्यालय, सडक किनार र आफन्तको आश्रयमा बसिरहेका छन्।  

रातिको समयमा बाढी बस्तीमा पसेकाले स्थानीयले खाद्यान्न लुगाकपडा लगायतका सामान जोगाउन नसकेको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए। ‘बाढी पीडितले शरीरको लुगा बाहेक केही जोगाउन सकेनन्’ उनले भने–‘अचानक बाढी आयो। सबैको ध्यान ज्यान जोगाउने तर्फ मात्रै रह्यो।’

बाढीले सबैभन्दा बढी क्षति टीकापुर नगरपालिका वडा नं. ८ मा पारेको छ। त्यहाँका अर्नुवा, सुनारटोल, वनगाउँ, फाँटा, तिमिल्सैन, रामडाँडा, बटनपुरका प्राय सबै घरमा बाढी पसेको छ। बाढी प्रभावित स्थानीय त्रिभुवन मावि, राष्ट्रिय प्रावि, कालिमाटी प्रावि र वनगाउँ, फाँटा, सूर्यपुरमा रहेका सेल्टरमा बसेका छन्।  

कर्णालीको बाढीले वडा नं.७ र ९ मा समेत केही घरपरिवारलाई चपेटामा पारेको छ। वडासचिव लोकबहादुर बुढाका अनुसार वडा नं.७ मा ५० र वडा नं.९ मा ६० परिवार चपेटामा परेका छन। उनीहरु मध्ये धेरैजसो घर फर्किएका छन्। वडा नं.७ का १८ परिवार मात्रै कर्णाली माविमा बसेको वडासचिव बुढाले जानकारी दिए। उनले बाढीको चपेटामा परेका घरपरिवारको खाद्यान्न लुगाकपडा लगायतका सामान भने बाढीले बगाएको बताए।  

बाढीले स्थानीयको गासबास बगाएको मात्रै हैन खेतबारी समेत बगर बनाईदिएको छ। त्यहाँको सयौं विगाह जमिनमा बाढीले ढुंगा र बालुवा थुपारेको छ। टीकापुर नगरपालिका–५ शाहीपुरमा रहेको तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पसेको हो। बाढीले सत्ती नजिकै करिव ३ सय मिटर हुलाकी सडक समेत भत्काएको छ। सो सडक भत्किए पछि बाढी वडा नं.८ का बस्तीमा छिरेको थियो।  

टीकापुर नगरपालिकाले बाढी प्रभावितको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। नगरपालिकाका अनुसार १ हजार ५९६ घरपरिवार बाढीका कारण विस्थापित भएका छन्। विस्थापित भएका मध्ये १ हजार ८३ विद्यालय, १९८ सडक छेउछाउ र ३१५ आफन्तको आश्रयमा बसेका छन। उनीहरु मध्ये १२५ परिवारको घर पूर्ण क्षति र ४३० परिवारको आशिंक क्षति भएको छ। नगरपालिकाले २ हजार २५१ परिवार बाढी प्रभावित भएको जनाएको छ।  

त्यस्तै कर्णाली नदीकै बाढीले जानकी गाउँपालिकामा ११६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन। विपद व्यवस्थापन शाखा प्रमुख नेत्र न्यौपानेका अनुसार वडा नं.९ मा ६०, वडा नं.३ मा ५० र वडा नं.६ मा ६ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई विद्यालयमा राखिएको छ।

जानकी गाउँपालिकामा समेत बाढीले स्थानीयको सयौं विगाहमा लगाएको धानबाली बगाईदिएको छ। बाढीले जगतपुर, मुर्तिया, पूर्व खैरीफाँटा, कटासे लगायतका गाउँमा धेरै नोक्सान पारेको छ। बाढी प्रभावितहरुलाई खान बस्नको निकै समस्या भैरहेको छ। बाढी प्रभावित मध्ये पनि बालबालिका, वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिहरु बढी समस्यामा छन्। उनीहरुलाई स्थानीय सरकारले चाउचाउ, चिउरा र पिउने पानी वितरण गरेको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ ०६:४६ बिहीबार

कर्णालीले गास-बास दुवै बगायो