समाज

उत्तरी गोरखा पुगेका गृहमन्त्री खाँणले भने: बाटो खुलाउन पहल गर्छु, खाद्यान्न छिट्टै पठाउँछौँ

गुम्बा उद्घाटनमा उत्तरी गोरखा पुगेका गृहमन्त्री खाँड । तस्विर : नागरिक

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका पुगेका गृहमन्त्री बालकृष्ण खाँडले तत्काल बाटो खुलाउन पहल गर्ने बताएका छन् ।  

‘एक महिना भन्दा धेरै समय देखि बाटो बन्द भएर समस्या भएको छ, गृहमन्त्रालयले खुलाउन पहल गर्नेछ’ उनले भने । शुक्रवार चुमनुब्री गाउँपालिका ६ को सिप्चेटमा ‘चुम सिप्चेट मानखाङ गुम्बा’ उद्घाटनका क्रममा गृहमन्त्री खाँण हेलिकप्टरमा मार्फत उत्तरी गोरखा पुगेका थिए । गृहमन्त्री गाउँ आएका बेला स्थानीयले वडा कार्यालय मार्फत सर्दीभिर, लोक्पाखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा आउजाउमा समस्या भएको, खाद्यान्न हाहाकार भएको गुनासो गरेका थिए ।  

वडा अध्यक्ष लोप्साङ फुन्जो लामाले ध्यानाकर्षण पत्र बुझाउँदै टेलिफोनको टावर बनेपनि सेवा सुचारु नभएको, शुरक्षाको दृष्टिकोणले संवेदनशिल ठाउँ भएकाले विषेश ध्यान दिन अनुरोध गरेका थिए ।  स्थानीयको समस्या सुनेपछि गृहमन्त्री खाँणले बाटो खुलाउने, सहज बनाउने दायित्व सरकार्को भएको बताउँदै भने ‘केही समय भित्र खाद्यान्न पनि हेलिकप्टरमा ल्याउने ब्यवस्था गछौँ ।’ गृहमन्त्रालयको बिपद् ब्यवस्थापन महाशाखा मार्फत छिट्टै खाद्यान्न ब्यवस्थापन हुने उनले आश्वासन दिए । पहिरो ब्यवस्थापनमा पनि मन्त्रालयले सहयोग गर्नेछ ।  

उत्तरी गोरखा तिब्बतसँग सिमाना जोडिएको ठाउँ भएकाले सीमा क्षेत्रको जर्गेना गर्ने काम त्यहाँको स्थानीयको भएको बताउँदै उनले सुरक्षाको थप ब्यवस्थापनमा सरकारले ध्यान दिने बताए । ‘चुमनुब्रीको धार्मिक, सांस्कृतिक बिविधताको रक्षा गर्नुपर्छ यसका लागि सरकारले पनि सहयोग गर्छ’ उनले भने ।  गृहमन्त्री खाँणले सिप्चेटमा २०७२ को भुकम्पले भत्काएर पुनर्निर्माण भएको ३७ घर रहेको बस्तीको पनि उद्घाटन गरेका उनका प्रेस सल्लाहकार मधुसुधन भट्टराईले बताए । उक्त गुम्बा र बस्ती खेम्पो कर्मा दावाले निर्माण गरिदिएका हुन ।  

चुमनुब्री उत्तरी गोरखाको दुर्गम पालिका हो । त्यहाँ अहिले सम्म सडक सञ्जाल पुगेको छैन । खच्चड वा हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । एक महिना भन्दा बढी समय पहिरोले भत्किएको बाटो मर्मत नहुँदा वडा नम्बर ६ र ७ मा समस्या भएको स्थानीय सरोज लामाले बताए । 

प्रकाशित: ८ आश्विन २०७८ १०:२७ शुक्रबार

गृहमन्त्री उत्तरी गोरखा