समाज

लोकसेवाको कर्मचारी भन्दै ठगी गर्ने धरानबाट पक्राउ

लोकसेवा आयोगको कर्मचारी भन्दै सरकारी जागिरको प्रलोभन दिएर ठगी गर्ने एक व्यक्ति धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ वर्षीय कुमार थापामगर भन्ने अमरबहादुर लामिछाने छन्।

उनलाई किटानी जाहेरीको आधारमा धरान प्रहरीले बुधबार पक्राउ गरेको हो। उनको साथबाट विभिन्न सरकारी कार्यालयको किर्ते छापसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लामिछानेले लोक सेवा आयोगको परीक्षाको प्रवेश पत्रसमेत वितरण गर्ने गरेको र त्यसबापत रकम असुल गरिरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनले रकम लिँदा भने लेनदेन प्रकृतिको कागज बनाउने गरेको पाइएको छ। उनको डेरामा प्रहरीले खान तलासी गर्दा विभिन्न सरकारी कार्यालयको किर्ते दस्तखत तथा छापहरु बरामद गरेको छ।  

उनको साथबाट सर्वोच्च अदालत काठमाडौँ लेखिएको डिजिटल छाप, लोकसेवा आयोग कमलपोखरी काठमाडौँ लेखिएको डिजिटल छाप, गोप्य लेखेको रबरको छाप, जिबछ लामिछाने लेखेको रबरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौँ लेखेको रबरको छाप बरामद भएको छ। यस्तै, प्रहरी निरीक्षक लेखेको रबरको छाप, उपसचिव लेखेको रबरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो भएको छाप, लोक सेवा आयोगको कार्यालय लेखिएको डिजिटल स्ट्याम्प छाप, शाखा अधिकृत लेखेको छापलगायत विभिन्न कागजात बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७८ ०७:५४ शुक्रबार

लोकसेवा आयोग दस्तखत किर्ते