समाज

घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ। आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।  

उनले भने, 'आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे। त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ। बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए।' 

ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ। घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ। त्यहाँका घरहरू पनि टाढाटाढा छन्।  

प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ। के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ। धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ। रासस

प्रकाशित: १५ भाद्र २०७८ ०४:१५ मंगलबार

घरमा आगलागी हुँदा दुई जनाको मृत्यु