समाज

विमानस्थलका नीलगाई स्थानान्तरण

विराटनगर विमानस्थलको केराघारीभित्र रहेका नीलगाई स्थानान्तरण गरिएको छ। विमानस्थलको धावनमार्ग नजिक १४ विघा क्षेत्रफलमा लगाइएको केरा खेती र काँसघारीमा नीलगाईलगायत अन्य जंगली जनावरले सुरक्षित बासस्थान बनाउँदै आएका छन्। सुरक्षित आश्रयस्थल बनाएर बसिरहेका २ वटा नीलगाई पर्सा वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विमानस्थलले जनाएको छ।  

विमानस्थलको जग्गाभित्र लगाइएको केरा खेतीले हवाई उडानलाई असर गरेले खेती हटाउँदै वन्यजन्तु नीलगाईको व्यवस्थापन गरिएको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले बताए। त्यसअघि विमानस्थलले खाली जग्गा निश्चित मूल्यमा ठेक्का लगाउँदै केराखेती गर्न दिएको थियो।

यसअघि केराखेती हुँदै आएको जमिन विमानस्थलले कम उचाईका व्यवसायिक एवं कृषिजन्य खेती मात्रै लगाउन पाउने गरी अत्रि कन्सट्रक्सनलाई ३ वर्ष (२०७८/२०८०)का लागि ५ लाख २५ हजार रुपैयाँमा ठेक्का दिइसकेको छ। विमानस्थल प्रमुख खरेलका अनुसार उक्त जग्गामा धान र जडिबुटीलगायतको मात्रै खेती गर्न पाइने छ।

विमानस्थलका कर्मचारी र नेपाली सेनाको सहयोग एवं कोसी टप्पु वन्यजन्तु आरक्षको संयोजनमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका प्राविधिकले वयस्क भाले र पोथी नीलगाईलाई नियन्त्रणमा लिएर ट्रकमा राख्दै स्थानान्तरण गरेका छन्।  

जसका कारण हवाई एवं मानवीय सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील मानिने विमानस्थलमा दुर्घटनाको जोखिम बढेको थियो। विमानस्थलमा नीलगाई, स्याल, जंगली कुकुरसमेतका वन्यजन्तु रहेको स्थानीय बताउँछन्।  

स्थानीयका अनुसार त्यहाँ ७ वटा जति नीलगाई हुनुपर्ने हो। तर, खोजी गर्दा ३ वटा मात्रै भेटिएको र ३ वटा यसअघि नै मृत फेला परिसकेको विमानस्थलले जनाएको छ। ३ वटामध्ये एउटा तारघेरा गरिएको निषेधित क्षेत्रको गेटबाट भागेको र २ वटालाई स्थानान्तरण गरिएको छ भने अरु पनि छन् कि भनेर खोजी जारी राखिएको खरेलले बताए।  

विमानस्थल असुरक्षित हुने भएकाले अरु पनि वन्यजन्तु व्यवस्थापनका लागि कोसिस गरिने खरेलको भनाइ छ। उनका अनुसार अवतरण एवं उडानका क्रममा वन्यजन्तुले धावनमार्ग पार गरिदिएमा ठोक्किएर जहाज दुर्घटनामा पर्नसक्ने जोखिम थियो। विमानस्थललाई सुरक्षित र दुर्घटनाको जोखिमबाट मुक्त गर्न वरपर झाडीजन्य बोट लगाउन रोक लगाइएको उनले बताए।

खरेलका अनुसार विमानस्थलको तारघेराभित्रका वन्यजन्तु व्यवस्थापनको काम सुरु गरिए पनि बाहिर स्थानीयले लगाएको उखु खेती एवं बालीनालीले पनि वन्यजन्तुलाई लुक्न, बस्न, चर्न र आश्रय लिन सजिलो भइरहेको छ। नीलगाई मात्रै नभएर विमानस्थल प्रशासनले अरु वन्यजन्तु व्यवस्थापनको काम पनि तत्काल थाल्नुपर्ने देखिएको छ।  

विमानस्थलमा स्यालको संख्या धेरै रहेको छ। डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार आधा घण्टाभन्दा कम समयमा धावनमार्ग वरपर १० वटाभन्दा बढी स्याल भेटिएका थिए। धावनमार्गमा हुनसक्ने दुर्घटनाको जोखिम कम गर्न स्याललगायतका अरु वन्यजन्तुको पनि व्यवस्थापन आवश्यक रहेको छ।

प्रकाशित: ९ भाद्र २०७८ ११:३९ बुधबार

विमानस्थलका नीलगाई स्थानान्तरण