समाज

विष्णुमाया परियारको संघर्षपूर्ण सफलता अब विश्वभरका विद्यार्थीले पढ्दै

नेपाली समाजले ‘अछूत’ बनाएकी विष्णुमाया परियारको संघर्षपूर्ण सफलता अब विश्वभरका विद्यार्थीले कक्षामा पढ्ने भएका छन्।  

अमेरिका निवासी डाक्टर विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश गरिएको छ। स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश गरिएको हो।

लिसा राइट हफ्नरबाट लिखित उक्त पुस्तकमा दलित परिवारमा जन्मिएकी डाक्टर विष्णुमाया परियारको पिस कप्र्सको सहयोगमा बदलिएको जीवनसंघर्षको कथा समेटिएको छ। सन् १८८८ मा स्थापित म्याक ग्र हिलबाट प्रकाशित पुस्तकहरु विश्वभरका ११ सय बढी शिक्षण संस्थाहरुले कोर्सबुकका रुपमा प्रयोग गर्दै आएका छन्।  

डाक्टर परियारको जीवनकथा समेटिएको यो पुस्तकमा राम्रो लेखक बन्नका लागि विद्यार्थीहरुले जान्नुपर्ने लेखन प्रकृयाबारे उल्लेख गरिएको छ। पुस्तकको मूल्य ७० अमेरिकी डलर रहेको छ । पुस्तककी लेखिका डाक्टर लिसा हफ्नर सन् १९९८ देखि टेक्सासको म्याकलेनन कम्युनिटी कलेजमा प्रोफेसर छिन्।

डाक्टर परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध आउटरिज कोअर्डिनेटरका रुपमा काम गर्दै आएकी छिन्। दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन्। हाल उनी जर्सी सिटीको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन्।

प्रकाशित: ९ भाद्र २०७८ १०:०६ बुधबार

विष्णुमाया परियार संघर्षपूर्ण सफलता