समाज

पन्ध्र केजी गाँजासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। घरमा लागू औषध गाँजा लुकाइ राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका ५७ वर्षीय मगम राईलाई शनिबार पक्राउ गरेको हो। 

शनिबार राईको घर खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले आइतबार विज्ञाप्तीमार्फत जानकारी दिएका छन्। १० बोरामा प्याक गरिएको गाँजासहित पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ। प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्। 

उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीकरुपमा गाँजा खेती गर्ने गरेका छन्।  

भरुवा बन्दुकसहित एक पक्राउ  

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई भरुवा बनदुकसहित पक्राउ परेका छन्। अवैध हातहतियार भरुवा बन्दुक छिपाइरहेको गोप्य सूचनाका आधारमा राईलाई एक नाल भरुवा बन्दुकसहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७८ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App