समाज

पहिरो झर्न थालेपछि बस्ती जोखिममा

दैलेखको नौमुले गाउँपालिका–४ कालिकास्थित उत्तीसेनीमा पहिरो जान थालेसँगै बस्ती नै उच्च जोखिममा परेको छ। बस्ती नजिकबाट पहिरो बग्न थालेपछि २६ घरधुरी जोखिममा परेका हुन्। 

उत्तीसेनीमा ७ घर पहिरोले बगाएको छ। तर, मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।  बस्ती तलबाट बारीहरु २०७४ सालदेखि बग्न थालेपनि अहिले बस्ती नजिक पहिरो पुगेपछि स्थानीयमा त्रास छाएको हो। स्थानीयहरु जोखिम हुँदाहुँदै पनि नजिक जाने ठाउँ नहुँदा जोखिम मोलेर उत्तीसैनी बसेका छन्। अहिले बस्तीको बीचबाट जमिनको भाग चर्किन थालेको स्थानीय देवी बुढाले बताइन्। ‘पानी परेपछि रातभर जाग्राम बस्छौं,’ स्थानीय बुढाले भनिन्, ‘अन्त कतै जाउँ भने नजिक बस्ने ठाउँ छैन्। सबै भिरालो जमिन मात्र छ।’  

देवीसहित ७ जनाको घर नै पहिरोले बगाएको छ। ठूलो पानी परेका बेला नजिकैको जंगल र खरमेलामा पाल टांँसेर रात बिताउनुपर्ने बाध्यता रहेकोे स्थानीय पहलबहादुर पुनमगरले बताए। सुरक्षित स्थानमा बस्ती सार्नका लागि स्थानीय सरकार, प्रदेश सरकारले पहल गर्नुपर्ने स्थानीय अगुवा चन्द्रलाल बस्नेतले बताए।

गत वर्ष गाउँपालिकाले पहिरो अनुगमन गरी पीडित परिवारलाई राहत बाँडेको ४ नम्वर वडाका अध्यक्ष गंजबहादुर ढेंगाले बताए। बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि प्रदेश र संघसँग आवश्यक प्रकृया अघि बढाईएको गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए। 

प्रकाशित: ६ भाद्र २०७८ ०९:२० आइतबार

पहिरो