समाज

सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई पक्राउ

खोटाङमा सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई युवा पक्राउ परेका छन्। कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कका २८ वर्षीय टिसन राई र काभ्रेका २७ वर्षीय मने भनिने मनकुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। टिसन सानिकाको आफ्नै दिदीको छोरा हुन्। 

घट्नापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुक्ष्म अनुसन्धान तथा खोजतलास गर्नेक्रममा सुतिरहेकी महिलामाथि नकाव लगाएर खुकुरी प्रहार गर्ने अभियुक्तको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सागर शाहले बुधबार प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन्। भदौ १ गते राती आ–आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएका दुई अभियुक्तलाई बुधबार जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुर मुद्धामा म्याद थप अनुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट घट्नामा प्रयोग गरिएको खुकुरी र रगत लागेको भेष्ट बरामद गरिएको विज्ञाप्तीमा उल्लेख छ।

आक्रमणका क्रममा सानिकाको हात, चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। नकाव लगाएका कारण आक्रमणकारीको पहिचान गर्न सकिएको थिएन। खुकुरी प्रहार हुन थालेपछि ‘तिमीहरु जे चाहन्छौ म त्यही दिन्छु, मलाई नकाट’ भनेर आग्रह गर्दा ‘हामी अरु केही चाहँदैनौं तेरो ज्यान लिन चाहन्छौँ’ भन्दै खुकुरी प्रहार गरेको घाईते महिलाको भनाई छ।  

खुकुरी आक्रमणका कोलाहल मच्चिएपछि कुकुर आएर झम्टिएपछि नकावधारी पुरुष सानिकाको मोबाईल लिएर भागेको बताइएको छ। घट्ना लगत्तै खोजीका क्रममा घट्नास्थलबाट उत्तरतर्फ लुटिएको मोबाईल र खुकुरी प्रहारका क्रममा हात छोप्न प्रयोग गरिएको दुई थान पोलिथिन फेला परेको थियो। खुकुरी प्रहारबाट गम्भीर घाईते राईको काठ्माण्डौंको बिएण्डबी लगायतका अस्पतालमा उपचार गरिएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।  

दिदीको छोरा टिसनसँगको मनमुटावका कारण उनीमाथि आक्रमण भएको स्थानीयको अनुमान छ। सानिका माईती घरमा बस्दैआएकी थिईन्। बिवाहपछि सानिका टिसनलाई माईती घरको रेखदेख गर्ने जिम्मा दिएर आमा सहित केही समय उदयपुरको गाईघाट झरेका थिए। कोभिड–१९ को महामारी बढ्दै गएपछि उनीहरु पहिलो लकडाउन अघि गाउँ फर्किएका थिए। गाउँ आएपछि सानिका र टिसनबीचमा मनमुटाव सुरु भएको स्थानीयले बताएका छन्। दुई जनाको मनमुटावकै कारण टिसन वर्ष दिन अघिदेखि आफ्नै घर फर्केर बसिरहेका थिए। घाईते सानिकाको श्रीमान केही समयअघि मात्र विदेश पुगेका छन्। 

सुतिरहेको अवस्थामा सानिका राईमाथि महिलामाथि खुकुरी प्रहार गर्ने अभियुक्तका बारेमा प्रहरीले जारी गरेको विज्ञाप्ती। तस्बिर: नागरिक  

प्रकाशित: २ भाद्र २०७८ १२:१८ बुधबार

सुतिरहेकी महिलामाथि सांघातिक आक्रमण दुई पक्राउ