समाज

पानी प्रशोधन केन्द्रको पर्खाल भत्कियो

दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड पर्खालको भत्किएको खण्ड। तस्बिर: दमन राई/नागरिक

खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र) को कम्पाउण्ड पर्खाल भत्किएको छ। भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पूर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको हो। लगातारको वर्षाका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्डको मेसिनरी वालको करिब ४०/५० मिटर भाग भत्किएको छ।  

गत वर्ष नै चर्किएको कम्पाउण्डको पर्खाल यसपल्टको वर्षामा भत्किएको स्थानीय धनीराम राई नछुङले बताए। अग्लो कम्पाउण्डको मेसिनरी वाल भत्किँदा सुरक्षागार्ड बस्ने घरको पेटीसम्म पहिरो निस्किएको छ। गत वर्ष चर्किएको केही भागमा भने ग्याविन वाल हालेर टेवा दिइएको थियो। निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिले कमजोर जगबाट मेसिनरी वाल हालेकाले पहिरो गएको नछुङले बताए। ‘बलियो जग नभेटी पर्खाल उठाइएकाले पहिरो गएको हो। कामको गुणस्तरमा पनि प्रश्न उठेको छ,’ राईले भने, ‘अहिले पहिरोले पर्खाल लग्यो। यस्तै हो भने ट्रिटमेन्ट प्लान्टको ट्यांकी नै फुट्ने खतरा देखिएको छ।’  

लगातारको वर्षाका कारण दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र)को कम्पाउण्ड पर्खाल भत्किएको हो। हाल भत्किएको पर्खालको केही भागलाई प्लाष्टिकले छोपिएको छ। निर्माण कम्पनीकै लापरवाहीका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड वाल भत्किएको रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले  बताए। ‘ठेकेदारले पर्खालको जग बलियो बनाएन। मेसिनरी वालकोबीच–बीचमा पिलर पनि दिइएन,’ अध्यक्ष जोशीले भने, ‘भत्किएको भागलाई अहिले छोपेर राखिएको छ। वर्षा कम भएपछि ठेकेदार आफैले पुरानो बजेटमै पर्खाल बनाउँछ।’ १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि योजनाको काम सुरु गरिएको हो। आयोजनाको म्याद नाघेको १० महिना बित्दा करिब ९० प्रतिशत मात्र काम सम्पन्न भएको छ।  

बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो। आयोजनाको पहिलो दोश्रोपल्ट थप भएको म्याद गत असार ११ गते सकिएको कन्सल्टेन्ट इन्जिनियर रामबिक्रम दाहालले बताए। २०७७ साल असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ साल चैत १३ गते सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न नगरेपछि २०७७ साल फागुन ११ गतेसम्म पहिलो र २०७८ साल असार ११ गतेसम्मको दोश्रो म्याद थप गरिएको थियो।  

हालसम्म शहरी खानेपानी तथा सरसफाई आयोजनाको केही पाईपलाइन र स्काडाको काम मात्र बाँकी रहेको आयोजनाका कन्सल्टेन्ट इन्जिनियर दाहालले बताए। कोभिड–१९ को महामारीका कारण शहरी खानेपानी तथा सरसफाई आयोजनाको तेश्रोपल्ट म्याद थपका लागि सिफारिस गरिएको जनाइएको छ। ‘ठेक्का सम्झौता अनुशारको काम लगभग सकिएको छ,’ कन्सल्टेन्ट इन्जिनियर दाहालले भने, ‘उपभोक्ता संख्या बढेकाले त्यी थप घरमा हाउस कनेक्सनको काम भइरहेको छ। स्काडाको काम पनि हुँदैछ।’  

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर स्थानीयलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउने लक्ष्य राखिएको छ।  

आयोजनाको लागि निगाले र अल्छेढुंगामा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र), दिक्तेल क्याम्पसभन्दा माथि थामखोरेडाँडामा १५० घनमिटर, दिक्तेलबजारको बेसक्याम्पमा १७५ घनमिटर र हाटडाँडामा ५० हजार घनमिटरको पानी संकलन गर्ने ट्यांकी निर्माण, १८ किलोमिटर प्रशारण पाईप लाईन लगायतका संरचना निर्माण गरिएको छ।  

रम्बा खोला र माझखोलाबाट ल्याइएको पानी थामखोरेडाँडामा निर्माण गरिएको १५० घरमिटर र बेसक्याम्पमा निर्माण गरिने १७५ घरमिटरको ट्यांकीमार्फत टोलमा पानी वितरण गर्ने तयारी गरिएको अध्यक्ष जोशीले  बताए। यस्तै, काउले मुहानको पानीलाई अल्छेढुंगामा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा प्रशोधन गरेर हाटडाँडामा निर्माण गरिने ५० हजार घनमिटरको ट्यांकीमा जम्मा गरेर वितरण गर्ने तयारी गरिएको छ। आयोजनाका लागि नेपाल सरकारको १५ करोड ७८ लाख ९१ हजार २१५ रुपैयाँ (७० प्रतिशत), नगर विकास कोषको ५ करोड ६३ लाख ८९ हजार ७१९ रुपैयाँ (२५ प्रतिशत) र उपभोक्ता समितिको १ करोड १२ लाख ७७ हजार ९४३ रुपैयाँ (५ प्रतिशत) खर्च हुने छ। नगर विकास कोषको २५ प्रतिशत रकम भने उपभोक्ता समितिले ऋण लिएको हो।  

आयोजना अन्तरगत समितिको कार्यालय भवन, १० वटा फायर हाइड्रेण्ट (अग्नी नियन्त्रण प्वइन्ट), एक वटा पानी परिक्षण प्रयोगशाला लगायतका संचना निर्माण गर्ने सम्झौता छ। जनसंख्य बृद्धिका कारण एक÷दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एबं मापदण्ड अनुशारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो। आयोजनाबाट दैनिक प्रतिव्यक्ती ७५ लिटर पानी उपलव्ध गराउने लक्ष्य राखिएको शहरी खानेपानी तथा सरसफाई आयोजनाले जनाएको छ।  

थामखोरेडाँडामा निर्माण गरिएको ट्यांकी टेढो बनेपछि वरपरबाट अर्को जाली हालेर ढलान गरेर सोझो पारिएको थियो। आफ्नो गाउँको मुहान अन्यत्र लान खोजिएको भन्दै सोल्माका स्थानीयले अवरोध गरेपछि सोल्मा र नेर्पाका स्थानीयका लागि समेत छुट्टै योजना दिइएको अध्यक्ष जोशीले बताए।

प्रकाशित: २८ श्रावण २०७८ ०९:५८ बिहीबार

पानी प्रशोधन केन्द्रको कम्पाउण्ड पर्खाल भत्कियो