समाज

सरकारी मोटरसाइकलमा ‘खैरो हिरोइन’ ओसार्दै, वडा अध्यक्षसहित ३ पक्राउ

पर्सामा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यसहित ३ जना ब्यक्ति ७९ ग्राम ‘खैरो हिरोइन’ ओसारपसारको आशंका पक्राउ परेका छन्। आइतवार राति करिब साढे १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आत्माराम सडकको बर्वा भन्ने ठाउँबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।  

इलाका प्रहरी कार्यालय पोखरियाले जनाए अनुसार पक्राउ पर्नेमा पकहाँमैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमिरका सहनी, सोही ठाउँ बस्ने वडा सदस्य ४७ वर्षीय बालिष्टर सहनी र उनीहरुसंगै रहेका ५२ वर्षीय रामादेश सहनी रहेका छन्।  

‘इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ,’ प्रहरी उपरीक्षक पाण्डेले नागरिकलाई भने, ‘एक जना वडाअध्यक्ष र अर्का २ जना समातिएका हुन।’ घट्नामा बरामद भएको ना १ ब ३५९५ नम्बरको सरकारी नम्बरप्लेटको मोटरसाइकलमा वडा अध्यक्ष सहनी सवार थिए। अर्को ना ७२ प १९४२ नम्बरको निजी नम्बरको मोटरसाइकल घट्नामा प्रयोग भएको भनी प्रहरीले नियन्त्रणमा लिएको छ।  

‘खैरो हिरोइनको आशंका बरामद गरिएको पदार्थसहित हामीले निजहरुलाई नियन्त्रणमा लिएका छौं,’ इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले भने, ‘तिलावे नदीभन्दा पश्चिम बर्वा गाउँनजिकबाट उनीहरुलाई चेक जाँचको क्रममा पक्राउ गरिएको हो, अहिले अनुसन्धान भइरहेको छ।’  

प्रकाशित: ४ श्रावण २०७८ ०५:४२ सोमबार

वडा अध्यक्षसहित ३ पक्राउ