समाज

मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकविरुद्ध कारबाही

जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउने काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–३ का सन्तबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क क्षेत्रमा मादक पदार्थ सेवन गरेर गाडी चलाउँदै गरेको अवस्थामा चेकजाँच गर्दा अश्लिल बोलीबचन प्रयोग गरी गालीगलौज तथा हो–हल्ला गर्दै अभद्र व्यवहार गरेको भन्दै चालक राईलाई सोमबार गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका चालकविरुद्ध अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट मंगलबार म्याद थप अमुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले जानकारी दिएका छन् ।

प्रकाशित: २२ असार २०७८ १४:३९ मंगलबार

मादक पदार्थ सेवन