समाज

१२ वर्षमा बन्न लागेको पुल त्रियुगाको बाढीले भाँचियो

निर्माणको अन्तिम चरणमा बाढीले भत्काएको शिवाईको पुल पुल। तस्बिर:महेश्वर/ नागरिक

नेपालीमा एउटा चर्चित उखान छ ‘१२ वर्षमा उन्यु फुल्यो, ...को गन्ध।’ उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित निर्माणाधीन त्रियुगा नदीको पुलको हकमा यस्तै भएको छ।  

लगातार दुईदिनको अविरल वर्षापछिको बाढीले बनिसक्न लागेको पुल शनिबार साँझ भत्काएको छ। लामो समयेदखि निर्माणाधीन पुल सकिन लागेको बेला बाढीले भत्काएपछि यो वर्ष पनि स्थानीयलाई त्रिुयुगाको बाढीको सास्ती कायमै रहने चौण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए।  

उनका अनुसार लगातारको बाढीले पश्चिमतर्फ एउटा पिल्लर पिल्लर खोतलेपछि दुईटा स्पान भत्केको छ। निर्माणको अन्तिम चरणमा रहेको पुल भत्केपछि यो वर्ष पनि वडा नं. ५ सुन्दरपुरबासीलाई त्रियुगाको बाढीले सताउने राईले बताए।  

झण्डै १२ वर्षअघि ०६७ मा निर्माण सुरु भएको पुल पटकपटक म्याद थपेर बल्ल यस वर्ष बनिसक्ने अवस्थामा पुग्दा स्थानीयबासी निकै हर्षित थिए। पुल नहुँदा बर्खायाममा त्रियुगाले नगरपालिका केन्द्र बेलटार र वडा कार्यालय सुन्दरपुर आवतजावत गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ। यसवर्ष पुल बन्ने भएपछि डुंगा चढ्ने समस्याको अन्त्य हुन्छ भन्ने अनुमान गरेकोमा बनिसक्नै लागेको पुल बाढीले भत्काएपछि फेरि डुंगाकै भर पर्नुपर्ने अवस्था आईपरेको वडाध्यक्ष देवनारायण चौधरीले बताए। पुल नबन्दा नगरपालिका आवतजावत गर्न वडाबासीलाई हरेक बर्खायाममा बाढीले रोक्ने गरेर जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता जस्ताको तस्तै रहेको उनले बताए।  

०६७ असारमा सम्झौता गरेर थालेको काम ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म सम्पन्न नभएको हो। महालक्ष्मी/लोकप्रिय जेवी कलंकीले ०७० असार २२ गतेभित्र बनाईसकेर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरे पनि बिभिन्न कारण देखाउँदै पुल बनाउने काम ढिला गर्दै आएको थियो। काम ढिला भएको भन्दै पटकपटक म्याद थप्दै ल्याएको पुल यो आर्थिक वर्षमा जसरी पनि सक्ने गरी गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले ताकेता गरेको थियो।  

यसवर्ष भने लगभग सम्पन्न भईसकेका बेला बाढीले पुल भत्काएपछि समस्या ज्युँकाे त्युँ भएको सडक कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताए। राति बाढीले पुल भत्काएको खवर सुनेका खकुरेल अहिले घट्नास्थलमै पुगेर पुलको अवस्थाबारे निरीक्षणमा रहेको बताएका छन्। डिई खकुरेलका अनुसार एउटा पिल्लरलाई बाढीले बंग्याएका कारण २५ मिटरको स्पानका दुईटा स्ल्याब भाँचिएको छ।

नदीको मुलधार बग्ने ठाउँकै स्पान भत्किएपछि बनाउन समय लाग्ने र वर्षायाम भएकाले तत्काललाई मर्मत गर्न पनि गाह्रो हुने उनले बताए। भत्किएको पुलको क्षति यकिन नभए पनि प्रारम्भिक अनुमान अनुसार २ करोड हाराहारी घाटा भएको खकुरेलले बताएका छन्। तर, विस्तृत क्षति विवरण भने सडक विभागले गठन गर्ने अनुसन्धान समितिले नापजाँच गरेपछि मात्र पत्ता लाग्ने उनले बताए।  

२ सय ८४ दशमलव ६ मिटर लामो तथा ५ मिटर चौडाईको पुल स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा निर्माणाधीन हो। सुरुमा १३ स्पानको इस्टीमेट रहेको पुल निर्माणको क्रममा प्राविधिक समस्या देखिएपछि १२ स्पानको बनाइएको थियो। गतवर्ष नै सक्ने गरी काम भईरहेकोमा कोभिड रोकिएपछि यो वर्ष निर्माण गरिसक्ने लक्ष्य लिइएकोमा कोभिड कहरसँगै बाढीले भत्काएपछि स्थानीयलाई पुल तर्ने सुविधा यो वर्ष पनि नदिएको वडाध्यक्ष देवनारायण चौधरीले बताए। सुरुमा ८ करोड ६६ लाख ९० हजारमा ठेक्का लगाइएको पुलको पछिल्लो भेरिएसन अनुसार ११ करोड २५ लाख पुगेको खकुरेलले जनाएका छन्।

प्रकाशित: २० असार २०७८ ०७:१३ आइतबार

१२ वर्षमा बन्न लागेको पुल बाढीले भाँचियो