समाज

सदरमुकाम गौरमा बाढी पस्ने त्रास

रौतहट सदरमुकाम गौरमा शुक्रबार राति बाढी पस्ने त्रास देखिएको छ। बकैया नदीमा आएको बाढीको पानी हुलाकी राजमार्गलाई नाघेर सदरमुकामतिर बढ्न थालेपछि सदरमुकाममा बाढी पस्ने त्रास बढेको हो।

निरन्तरको वर्षाले जिल्लाका सबै नदीहरु पानीले भरिएका छन्। जिल्लाको तल्लो क्षेत्रमा नदीबाहिर पानी बग्न थालेकोले हजारौँ बिघा जमिन डुबानमा परेको छ। बकैया नदीमा आएको बाढी र लमाहा खोलामा आएको बाढीको पानी सदरमुकाम गौरतिर बढ्न थालेपछि स्थानीयमा त्रास देखिन थालेको छ।

बकैया र लमाहा नदीको पानी सदरमुकामतिर बढिरहेको र बागमती नदीमा पनि तटबन्ध नाघ्ने खतरा रहेकोले सदरमुकामवासीमा बढी त्रास देखिएको हो। 

बाढीको त्रास देखिएपछि भुइँतलामा पसल भएकाहरुमध्ये पानी पस्ने डर भएका कतिपयले आफ्नो सामान अन्यत्र सार्ने काम पनि गरेका छन्। बाढी पसेपछि सामान नपाइने डरले कतिपयले खाद्यान्न लगायतका सामग्री संग्रह पनि गरेका छन्। बाढीको डरले स्थानीयवासीमा त्रास बढेको गौर ५ का सुरेश यादवले बताएका छन्।  

सदरमुकामसहित अन्य गाउँमा बाढीको पानी नपसोस् भनेर गएराति रौतहटका सुरक्षा निकाय रातभर जाग्राम बसेर बागमती नदीको तटबन्धको मरम्मत गरेका छन्। बागमती नदीमा आएको ठूलो बाढीले तटबन्ध कटान गर्न थालेको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली राजदेवी नगरपालिकाको किनारमा पुगेर मरम्मत गरेका हुन्। सुरक्षाकर्मीहरुले रातभर जाग्राम बसेर स्पर तथा बाँधको मरम्मत गरेका कारण तत्कालको लागि खतरा टरेको छ।

यदि राति बाँधलाई बाढीले कटान गरेको भए राजदेवी नगरपालिकाका चार वटा गाउँका साथै सदरमुकाम गौर र यस आसपासका अन्य गाउँ डुबानमा परिसकेको हुन्थ्यो। सुरक्षाकर्मीले रातभर जाग्राम बसेर र कठिन परिश्रम गरेर स्थानीयवासीको जीउधनको रक्षा गरेका छन्।  

शुक्रबार बिहानभरि पानी परेको र दिउँसोदेखि पानी पर्न रोकिए पनि सबै खोला नाला बढेको र पानी पर्ने सम्भावना कम नभएकोले सदरमुकामवासी त्रासमा रहेका छन्। विगतमा पनि सदरमुकाममा बाढीले ठूलो क्षति पुर्‍याउने गरेको देखिएको छ।

 

प्रकाशित: १८ असार २०७८ १३:५७ शुक्रबार

बाढी पस्ने त्रास बकैया नदी