समाज

सुदूरपश्चिममा कोराेनाः २५ देखि २९ वर्षका युवा सबैभन्दा बढी संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण युवा उमेर समूहमा बढी देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले वैशाख यता सबैभन्दा बढी २५ देखि २९ वर्षका युवा संक्रमित भएका छन् । वैशाखदेखि जेठ ८ गतेसम्म यो उमेरका २ हजार ३ सय ९० जना युवा संक्रमित भएको स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताएका छन् । 

त्यसपछि संक्रमण बढी हुनेमा ३० देखि ३४ वर्ष उमेरका युवा रहेका छन् । यो उमेर भएका २ हजार १ सय ९१ संक्रमित छन् । यसैगरि २० देखि २४ वर्ष उमेरका १ हजार ८ सय ७३ जना संक्रमित भएका छन् । ३५ देखि ३९ उमेरका १ हजार ७ सय ४६ जना संक्रमित भएका छन् । ४० देखि ४४ उमेरका १ हजार ४ सय ४९ जना संक्रमित रहेको उनले बताए । ५० वर्षदेखि ५४ उमेरका १ हजार ६० जना संक्रमित भएका छन् भने ५५ देखि ५९ उमेरका ६ सय ५ संक्रमित छन् । 

यसैगरि ६० देखि ६४ वर्षका ४ सय ५, ६५ देखि ६९ वर्षका २ सय ८४ र ७० देखि ७४ वर्षका २ सय ४७ संक्रमित छन् । यसैगरि ७५ देखि ७९ उमेरका १ सय १४ जना, ८० देखि ८४ उमेरका ७३ जना र ८५ वर्षमाथिका ३६ जना संक्रमित भएका छन् ।  

बालबालिका पनि बढी संक्रमित

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले बालबालिका पनि बढी संक्रमित भएका छन् । ४ वर्षमुनिका १ सय २५ बालबालिका संक्रमित भएका छन् । यसैगरि ५ वर्षदेखि ९ वर्षका २ सय ६ र १० देखि १४ वर्षका ३ सय ४५ बालबालिका संक्रमित भएका छन् । १५ देखि १९ वर्षका ७ सय ६० किशोर किशोरी संक्रमित भएका छन् ।

‘युवा बढी संक्रमित हुनुको कारण अनुसन्धानको विषय

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले युवा नै बढी संक्रमित किन भए भन्ने कुराको अध्ययन नभएकाले एकिन कारण थाह हुन सकेको छैन । विज्ञहरुले युवाहरु घरबाहिर बढी ओहोरदोहोर गर्ने भएकाले हुन सक्ने अनुमान गरेका छन् ।सेती प्रादेशिक अस्पताल कोराेना रोग बिभाग प्रमुख शेरबहादुर कमर सरसर्ती हेर्दा तीन कारणले युवाहरु बढी संक्रमित भएको बताउँछन् । पहिलो, कोरानाको नयाँ भेरियन्ट शक्तिशाली हुनु, दोश्रो युवाहरु एकठाउँबाट अर्को ठाउँ जाने, हिँड्डुल गर्ने बढी हुनु, यहि उमेरका युवा भारततिरबाट घर फर्कनु र तेश्रो चाहि बढी संक्रमित हुनु भनेको यो उमेरका युवामा यो भाईरससँग लड्ने क्षमता कम भएको देखिएको उनी बताउँछन् । ‘नयाँ भेरियन्टको भाईरससँग युवाहरुमा लड्ने क्षमता कमजोर किन भयो भन्ने थाह पाउन अनुसन्धान नै गर्नुपर्ने हुन्छ’, उनी भन्छन् ।  

वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ पनि युवाहरु बढी सक्रिय हुने गरेकाले संक्रमित बढी देखिएको हुन सक्ने बताउँछन् । ‘कोराना भाईरसको संक्रमण यहि उमेर समूहलाई हुन्छ भन्ने त छैन’, कायस्थ भन्छन्,‘युवाहरुको मुभमेन्ट बढी हुने हुन्छ, यसैले संक्रमण बढी देखिएको हो ।’ बढी उमेर भएका व्यक्तिले बढी सतर्कता अपनाएर घर भित्र बसेपनि युवा उमेर समूहका व्यक्तिको सक्रियता रहिरह्यो । बढी उमेर भएकालाई खोप लगाइएको र कम उमेरकाले खोप नलगाएका कारण पनि युवा उमेरका समूहका बढी संक्रमित भएका हुन सक्ने उनको बिश्लेषण छ ।

प्रकाशित: १० जेष्ठ २०७८ १०:४४ सोमबार

सुदूरपश्चिम प्रदेश युवा बढी संक्रमित