समाज

पत्रकार चौधरीको आश्रित परिवारलाई किरियाखर्च

दिवंगत पत्रकार तथा दुई संस्थाका लेखापाल मनोजकुमार चौधरीको किरियाखर्च भनी तीन संस्थाले आश्रित परिवारलाई सहयोग उपलब्ध गराएका छन् । गरुडास्थित श्री माध्यमकि विद्यालयले एक लाख एकाउन्न हजार र मध्यरौतहट बहुमुखी क्याम्पसले एकाउन्न हजार रुपैयाको चेक मृतकका दाजु रामकृष्ण चौधरीलाई हस्तान्तरण गरेका छन् । मृतक चौधरी दुवै संस्थाका लेखापाल पदमा कार्यरत थिए ।  

यसैगरी रेडियो मधेस मसला एफएम गरुडाले पचास हजार पाँच सय रुपैया बराबरको चेक हस्तान्तरण गरेको छ । मृतक चौधरी एफएमका सञ्चालक समिति सदस्य तथा स्टेशन मैनेजर थिए ।

मृतक चौधरीको निवासमै पुगेर वडाध्यक्ष तथा मावि गरुडाको व्यवस्थापन समिति अध्यक्ष चुनचुनप्रसा साह, मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका अध्यक्ष लक्ष्मण साह, मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल, क्याम्पस प्रमुख प्रेमलाल साहलगायतले शोक व्यक्त गर्दै किरियाखर्च हस्तान्तरण गरेका हुन् ।

यसैबीच बज्जिका साहित्य संगम रौतहटले चौधरीप्रति श्रद्धान्जली अर्पण गर्न शोकसभा सम्पन्न गरेको छ । जुम प्रविधिबाट भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष किशुनदयाल श्रीकृष्ण गरेका थिए । मृतक चौधरी संगमका कोषाध्क्ष थिए । मृतक चौधरीको व्यक्तित्व तथा कृतित्वको बारेमा सञ्जय साह मित्र, रेणु गुप्ता, रामअधार पासवान, भोला पासवान, शेख चाँद अलि, संगीता सहनीलगायतले प्रकाश पार्दै शोक प्रस्ताव पारित गरेका छन् ।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:२८ शनिबार

किरियाखर्च