समाज

रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो।

दुर्गा भगवती ३ का युवक रघुनन्दन झा गौरतिर जान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायब निरीक्षक खड्गबहादुर खड्का र चालक सुनिल पटेलबीच सामान्य विवाद भएको थियो। सामान्य विवादमा प्रहरीले लौरो प्रहार गर्न थालेपछि घटनाले ठूलो रुप लिएको थियो।

मोटरसाइकलमा बसेका युवक झालाई सई खडका र चालक यादवले जथाभावी लौरो प्रहार गरेपछि मोटरसाइकल छोडेर भाग्न लाग्दा समातेर लघारीलघारी कुट्न थालेपछि स्थानीयले आक्रोशित भएर प्रहरीमाथि आक्रमण गर्दा दोहोरो झडप भएको हो।

झडपमा प्रहरीको संचार सेट फुटनुका साथै वर्दी पनि च्यातिएको थियो। प्रहरी र स्थानीयबीच भएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी आएपछि साम्य भएको थियो। प्रहरी र स्थानीयबीच करिब दुई घन्टा झडप भएको थियो।

प्रहरीको कुटाइबाट घाइते भएका युवक झालाई स्थानीय स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। स्वास्थ्य केन्द्रले युवक झालाई रेफर गरेपछि प्रहरीले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी संजीव साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौर पुर्‍याएको थियो।

गाउँपालिकाको आइसोलेसन प्रमुख डा. साहलाई प्रहरीले अपहरण शैलीमा ज्यादतीपूर्ण तरिकाले लगेपछि पालिकाका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका थिए। डा. साहको निशर्त रिहाइका साथै नेपाल प्रहरीले माफी माग्नुपर्ने माग राख्दै विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीहरुले कामकाज ठप्प पारेका थिए। गाउँपालिका प्रमुख अरुण साहको पहलमा डा. साहलाई प्रहरीको नियन्त्रणमुक्त गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपि सिद्धिविक्रम शाहले गम्भीर घाइते भनिएका झालाई चोटपटक लागेको तर अवस्था गम्भीर नरहेको बताउँदै सामान्य विषयलाई अतिरंजित बनाएर प्रस्तुत गरिएको बताएका छन्। घटनामा संलग्न चालक सुनिल पटेललाई जिल्लामा तानिसकेको एसपि शाहले बताएका छन्।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:१९ शनिबार

रौतहट प्रहरी र स्थानीयबीच झडप