समाज

सुदूरपश्चिममा एकैदिन ३१ संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । मंगलबार सुदूरपश्चिममा एकैदिन ३१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार कोराेना संक्रमणले  कंचनपुरमा मंगलबार एकैदिन १६ जना र कैलालीमा १० जनाको ज्यान गएको छ । यसैगरि बझाङमा २, अछाममा १, बैतडीमा १ र डडेल्धुरा १ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा कोराेनाको संक्रमणले एकैदिन मृत्यु भएको यो संख्या अहिले सम्मकै सर्वाधिक हो । सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको संक्रमणले बैशाख १६ गतेदेखि मृत्युदर एक्कासी बढेको हो । बैशाख १६ गते यता १३ दिनमा मात्र १ सय ८४ जनाको कोराेना संक्रमणले ज्यान गएको छ ।

बैशाख १६ गते १० जना, बैशाख १७ गते ८ जना, बैशाख १८ गते १० जना, बैशाख १९ गते १२ जना, बैशाख २० गते १४ जना, बैशाख २१  गते ८ जना, बैशाख २२ गते ११ जना, बैशाख २३ गते १७ जना बैशाख २४ गते १३ जना, बैशाख २५ गते १५, बैशाख २६ गते १८ जना र बैशाख २७ गते १७ जनाको ज्यान गएको थियो । सुदूरपश्चिममा ८ हजार ४ सय ८७ सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको दोश्रो लहरको संक्रमणले बैशाखको दोश्रो सातादेखि मृत्यु हुने क्रम बढेको हो । गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र  २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको स्वास्थ्य निर्देशनालायका हेमराज जोशीले बताएका छन् । बैशाखको ४ गते पहिलो र बैशाखको ९ गते दोश्रो संक्रमितको मृत्यु भएको सुदूरपश्चिममा बैशाख १५ गतेसम्म कोराेनाको संक्रमणले १५ जनाको मात्र मृत्यु भएकोमा बैशाख १६ गते यता संक्रमणले मृत्युदर बढेको हो ।

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले भयाभह भएपछि सुदूरपश्चिमका सरकारी तथा निजी अस्पताल भरिभराउ भएका छन् । आईसियु, भेन्टिलेटर भरिएका छन् भने सामान्य बेड पनि खाली छैन्न । अक्सिजन नपाएर हाहाकार भएको छ । संक्रमित अक्सिजन नपाएर छट्पटिरहेका छन् भने अस्पतालमा भर्ना भएका संक्रमित पनि अक्सिजन नपाएर ज्यान गुमाईरहेका छन् । श्वास फेर्न गाह्रो हुने, नियोमिनया हुने भएर अक्सिजनको सर्पोट चाहिने जटिल प्रकृती बिरामीको संख्या बढेको छ ।    

प्रकाशित: २८ वैशाख २०७८ १५:०८ मंगलबार

सुदूरपश्चिम प्रदेश संक्रमणले मृत्यु