समाज

खोटाङमा २ सय २६ आइसोलेसन बेड तयार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएको आइसोलेसन सेन्टर । तस्बिर : दमन राई/नागरिक

कोभिड–१९ को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै खोटाङमा आइसोलेसन सेन्टर विस्तार गर्नेक्रम तीव्र पारिएको छ । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि हाल जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् । आइतबारसम्ममा २ सय २६ आइसोलेसन बेड तयार भइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । तर अधिकांश आइसोलेसन बेड अक्सिजनबीनाको बनाइएका छन् ।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गतेको बैठकको निर्णय जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन सेन्टर बिस्तारको क्रम जारी छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका १० स्थानीय तहमध्ये नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । कोभिड–१९ को महामारीका लागि जिल्लामा हाल एक थान भेन्टीलेटर, ५९ वटा अक्सिजन सिलिण्डर र ९ वटा अक्सिलन कन्सन्ट्रेसर उपलव्ध छन् । 

यस्तै, जिल्ला अस्पताल सहित हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकामा अस्थायी कोभिड अस्पताल, ७ वटा एम्बूलेन्सलाई पनि महामारीमा उपयोग गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । जिल्लामा आइसियू भने उपलव्ध छैन ।  

हालसम्म जिल्लामा ११ हजार ३६० जनालाई कोभिड–१९ बिरुद्धको पहिलो मात्राको खोप र १ हजार ३६३ जनालाई दोश्रो मात्राको खोप लगाइसकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७८ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App