समाज

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा

मोरङमा जेठ १ गतेसम्म निशेधाज्ञा जारी गरिएको छ।

जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण उच्च दरले बढेका कारण कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बनाउनका लागि बैशाख २४ गते राती १२ बजेदेखि जेठ १ गते राती १२ बजेसम्मलाई जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो।

बैठकले कोभिड १९ को दोस्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न हरेक स्थानीय तहले कम्तीमा १५ बेड भएको अस्पताल, आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्ता अस्पताल तथा आइसोलेसनमा डाक्टर, नर्स, अहेबहितको टिम, एन्टिजेन र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै कोरोना महामारी नियन्त्रणका लागि जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने, जिल्लामा आइसोलेसन सेन्टर निर्माणका लागि प्रदेश समाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै पीसीआर परीक्षणका लागि आवश्यक पर्ने उपकरण र किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई माग गर्ने निर्णय पनि बैठकले गरेको छ।

विराटनगरस्थित कोभिड अस्पतालको पुरानो भवनमा रहेको बेडलाई सञ्चालन गर्न संसद विकास कोषबाट कोभिड अस्पताल निर्माणका लागि प्राप्त ३५ लाख रुपैयाँ बजेटबाट निर्माण कार्यअघि बढाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १३:०८ बिहीबार

कोरोना संक्रमण निशेधाज्ञा जारी