समाज

लिमचुङबुङमा सातादिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर

डढेलोको आगो सल्केर जलेको राईको घरको भग्नावेश । तस्बिरः महेश्वर

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा सातादिनअघि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँपालिका १ को बाँसबोटेस्थित भालुढुंगा सामुदायिक वन समूहको जंगलमा सातादिनअघि सल्किएको डढेलो स्थानीयको निरन्तर प्रयासले पनि नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष भीम किरातीले बताए ।  

उनका अनुसार लगातार लागेको डढेलोले पुरै जंगल समाप्त गरिसकेको छ । भालुढुंगा सामुदायिक वनमा एक्कासी सल्केको डढेलोले साविक बाँसबोटे गाविसको ३ र ७ नं. वडाका सबै वन जलेर भस्म भउको छ । नियन्त्रण गर्न खोज्दा खोज्दै साविक ३ नं. वडामा पर्ने वनक्षेत्र पनि डढेलोले सखाप पारेको वडाध्यक्ष राईले बताए । आगो निभाउन ३ दिनदेखि आफूलगायत जनप्रतिनिधि, स्थानीयबासी, सामुदायिक वन समूह, प्रहरी सबै मिलेर प्रयास गरे पनि नसकेको उनले बताए ।  

सुख्खा मौसम, चर्को घाम, लामो समयदेखि वर्षा नभएकाले डढेलो नियन्त्रणमा आउन गाह्रो भएको उनले बताए । सल्लाघारी, हावा चलिरहनु र सुख्खा भएकाले आगो छिटोछिटो सल्केर जंगल विनाश गर्दै गएको उनले बताए । अहिलेसम्म बाँसबोटेको जंगल सकिएर आसपासका अन्य जंगलतर्पm डढेलो बढ्दै गएको छ । वडाध्यक्ष राईका अनुसार डढेलोले भालुढुंगा सामुदायिक वनको १ सय २६ हेक्टर वन जलेर झण्डै ४ सय ५० हेक्टर हाराहारी राष्ट्रिय वन क्षेत्र पनि खाईसकेको छ ।  

‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगयात जनप्रतिनिधि, प्रहरी, वन समूह पदाधिकारी र स्थानीयहरु मिलेर धेरै प्रयास गर्दा पनि आगो नियन्त्रणमा ल्याउन सकिएन’ राईले भने ‘सुख्खा याम र सल्लाघारी भएकाले पनि आगो निभाउन थप जटिल भईरहेको छ । एकैचोटी ५० मिटर परसम्म झिल्को उडेर डढेलो सल्कने गरेको छ ।’  

स्थानीयका अनुसार बिकट र टाढा भएकाले डढेलो नियन्त्रणमा वन कर्मचारी पनि आईपुगेका छैनन् । सो क्षेत्रको वन रेखदेख गर्ने जिम्मा पाएको सवडिभिजन वन कार्यालय मुर्कुची झण्डै २ सय ५० किलोमिटर टाढा छ । डिभिजन वन कटारीमातहत पर्ने सो ठाउँमा लागेको डढेलो निभाउन मुर्कुचीमा जनशक्ति अभाव भएकाले खटाउन नसकिएको डिभिजन वन अधिकृत फडिन्द्र पोखरेलले बताए ।  

उनका अनुसार रौतामाई र लिमचुङबुङ गाउँपालिका हेर्ने जिम्मा पाएको मुर्कुची सवडिभिजन कार्यालय रौतामाई गाउँपालिका ७ मुर्कुचीमा रहेको र पर्याप्त जनशक्ति अभावमा डढेलो नियन्त्रणमा खटाउन समस्या छ । पोखरेलले त्यहाँ सातादिनयता निरन्तर डढेलो लागेको खवर आएको तर, टाढा बिकट ठाउँ र जनशक्ति अभावले नियन्त्रण गर्न गाह्रो भएकाले स्थानीय जनप्रतिनिधि र वन समूहलाई नै होसियारीपूर्वक आगो निभाउन आग्रह गरेको बताए । सडक पुगेको ठाउँमा भए सामान्य मिनी ट्यांकरमा पानी लगेर छिट्नेभन्दा बढी सुविधा डिभिजनसँग नभएको उनको भनाई छ ।  

यसअघि नै डढेलोको झिल्को गाउँ पसेर एक स्थानीयको घर, गोठ जलेर नष्ट भईसकेको छ । डढेलोको झिल्कोबाट सोमबार दिउँसो १ः०० बजे बाँसबोटे बुत्कु पुछारका दलबहादुर राईको घर, गोठ र सुंगुरको खोर जलेर नष्ट भएको गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईले बताए । उनका अनुसार आगोले राईको खरको छानो र ढुंगा माटोले बनेको दुईतले घर, गाईभैंसीको गोठ र सुंगुरको खोर जल्नुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको लेर नष्ट भएको लिमचुङबुङस्थित इलाका प्रहरी कार्यालय बाराहाले जनाएको छ ।  

आगलागीबाट राईको ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी र स्थानीयको सहयोगमा दिउँसो ४ः३० बजेसम्ममा आगो नियन्त्रणमा लिएको र मंगलबार पीडितलाई राहत उपलब्त्र गराइएको राईले बताए । सूचना अधिकारी राईका अनुसार अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष रमिला राई पीडितको घरमै पुगेर ५० किलो चामल, १५ किलो दाल, ५ लिटर तेल, नुनलगायत खाद्यान्न बितरण गरेका छन् । त्यस्तै तत्काल बास बस्नका लागि त्रिपाल, भाँडाकुँडा, थाल तथा हात धुने र लुगा धुने साबुनसमेत गाउँपालिकाले बितरण गरेको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १३:०३ बुधबार

डढेलो