समाज

माछा मार्न गएका मगरको दहमा डुबेर मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उदयपुरका एक स्थानीयको ज्यान गएको पुष्टि भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय माउले भन्ने हेमबहादुर बुर्जामगर माछा मार्ने क्रममा अघिल्लो दिउँसो डुबेर बेपत्ता भएका थिए।  

स्थानीय बलान खोलामा डुबेर शुक्रबार दिउँसोदेखि बेपत्ता भएका उनको शव भर्खरै निकालिएको प्रहरीले जनाएको छ। झण्डै २० मिटर गहिरोमा डुबेका उनलाई निकाल्न स्थानीयले पहल गर्दा नसकेपछि प्रहरी गुहारेका थिए। प्रहरीले सशस्त्र प्रहरी बललाई आग्रह गरेपछि खटेको टोलीले शनिबार विहान मृत शरीर निकालेको हो।  

उदयपुर सदरमुकामस्थित सशस्त्र प्रहरी बल ५ नं. गण हेडक्वाटर प्रमुख एसपी सुधीर सुबेदी नेतृत्वको टोली घट्नास्थल पुगेको थियो। जमिनको सतहभन्दा निकै तल डुबेका मगरको शव सशस्त्र प्रहरी बलको १ नं. प्रदेश बाहिनी विपत व्यवस्थापन टोली (डिएमटी)को तालिम प्राप्त गोताखोरको प्रयोग गरी निकालिएको हो। दहभित्र अड्किएको अवस्थामा मगरको मृत शरीर टोलीले निकालेर आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।    

शुक्रबार खोलामा माछा मार्न गएका उनी गहिरो ठाउँमा डुबेर बेपत्ता भएपछि निकाल्न प्रयास गर्दा स्थानीयले नसकेर प्रहरी गुहारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्। उनका अनुसार गहिरो दहमा डुबेका उनी पानीभित्रै अड्किएपछि निकाल्न सशस्त्र प्रहरी बललाई परिचालन गर्नु परेको हो।

प्रकाशित: ११ वैशाख २०७८ ०८:३१ शनिबार

दहमा डुबेर मृत्यु