समाज

कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ।

सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए। उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए।

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ। दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित: २७ चैत्र २०७७ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App