समाज

नौ दिनसम्म बन्धक बनाई बलात्कार

रुकुम पूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन्। जिल्लाको भुमे गाउँपालिकाकाका १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ।

चैत १ गते घरबाट सदरमुकाम रुकुमकोट गएका ती बालिका ९ दिनसम्म परिवारको सम्पर्कमा नआएपछि सोमबार आफन्तले प्रहरीमा निवेदन दिएका थिए। निवेदनको आधारमा खोजी गर्दा जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटको एक घरमा बन्धक बनाई जबरजस्ती करणी गरिरहेको विशेष सूचनाका आधारमा सोही गाउँपालिका–६ रुकुमकोटका २३ वर्षीय नारायण श्रेष्ठ र १४ वर्षीय एक बालकलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुुकले जानकारी दिए।

प्रहरीलाई बालिका हराएको खबर प्राप्त भएको २४ घन्टाभित्रै दोषीलाई पक्राउ गरिएको र बालिकाको उद्धार गरिएको उनले बताए। शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको नाजुक अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीको भनाइ छ। बालिकालाई प्रत्येक दिन बिहान ५ बजे दिसापिसाब गराउन ती दुई अभियुक्तले आफैं शौचालयसम्म पुर्‍याउने र त्यसपछि दिनभरि कोठाभित्र थुनेर राख्ने गरेको अनुसन्धानबाट खुलेको डिआइजी धानुकले बताए। कोठाभित्र बालिकाहरू रुने, चिच्याउने गरेमा ज्यान मार्ने धम्की दिँदै डराउने गरेको अभियुक्तले स्विकारेको उनको भनाइ छ।

पक्राउ परेका दुवैजनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिहेको डिआइजी धानुकले बताए। पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ छ। अपहरण गरेर कोठामा बन्धक बनाई राखेको दिनबाटै बालिकामाथि जबरजस्ती करणी हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेशबहादुर श्रेष्ठले बताए।

प्रकाशित: १२ चैत्र २०७७ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App