खानेपानीको समस्या भोग्दै आइरहेका सिद्धलेकको आदामाराबासीको समस्या समाधान भएको छ। बस्ती नजिकै खानेपानीको मुहान नभएका कारण धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ आदामारामा वर्षौदेखि टाढाटाढाबाट घण्टौँ धाएर ल्याउनुपर्ने अवस्था थियो। अहिले प्रत्येक घरघरमा निर्माण गरिएको धारामा पानी आउने भएका कारण समस्या समाधान भएको छ। घरघरमा धारासहित खानेपानी व्यवस्थापन भएपछि स्थानीयले खुशीयाली मनाएका छन्।
गाउँमा पहिलेदेखि रहेको मुहान सुक्दै गएका कारण खानेपानीको जोहो गर्न निकै संघर्ष गर्नुपरेको स्थानीय माया मगरले बताइन्। पहिले खोलाको धमिलो पानी डोकोमा बोकेर ल्याएर खानुपर्ने अवस्था थियो, उनले भनिन्, 'अहिले घरघरमा २४ सै घण्टा पानीको सुविधा छ, हामी गाउँले खुसी छौँ। घरघरमा पानी आएपछि करेसाबासीमा तरकारी लगाउन, बस्तुभाउलाई समेत पानीको अभाव हुँदैन।'
पूर्णिमा कार्यक्रम अन्तर्गत अक्सफामको सहयोग प्रयास नेपाल धादिङले संचालन गरेको योजनाबाट आदामाराबासीको घरघरमा धारा मार्फत खानेपानी उपलब्ध भएको छ। त्यहाँका ४२ घरमा धारामार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्याकारी निर्देशक दामोदर अर्यालले बताए। ‘खानेपानीको चरम अभाव भोग्नु परेका आदामारीवासीको समस्या समाधानमा सारथी बनेका छौँ,’ कार्यकारी निर्देशक अर्यालले भने, ‘१३ लाख ८१ हजार १ सय ४२ रुपैयाँ र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख ७ हजार २ सय ५० रुपैयाँ समेत गरि १८ लाख ८८ हजार ४ सय २ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको हो।’
घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने स्थानीय लोक बहादुर मगरले बताए। घर घरमा खानेपानीपछि अब आदामारा गाउँ पूर्ण सरसफाइमा अघि बढेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको र फोहोर व्यवस्थापनको लागि डस्विन राख्न सुरु गरिएको उनले बताए। पूर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि अनुरोध गरिएको छ।
खानेपानी आयोजना निर्माण सम्पन्न पश्चात् साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम गरेको छ।
प्रकाशित: ८ चैत्र २०७७ ०५:२४ आइतबार