पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ स्थान खोज्न थालेका छन् । नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका हुन् । बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा स्थायी बसोबासका लागि बाघ घुम्न थालेको हो ।
‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ,’ संरक्षणका क्षेत्रमा काम गर्दै आएका सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघ यहाँ स्थायी बासस्थानका लागि घुमिरहेको छ ।’ गत आइतबारदेखि गौरीगंगा नगरपालिका ५, अण्डैयामा देखिएको बाघ एक सातादेखि सोही क्षेत्र आसपास बस्दै आएको छ । बाघले बासस्थानका लागि सुरक्षित स्थान महसुस गरेकाले केही दिनदेखि यही क्षेत्रमा बस्दै आएको हुनसक्ने उनी बताउँछन् । ‘बाघको पुस्तौनीदेखिको क्षेत्र रहेको र पछिल्लो समयमा बाघको आहाराका लागि पर्याप्त वन्यजन्तु भएका कारण पनि यो क्षेत्रमा बाघ घुमिरहेको छ,’ उनले भने,‘यो क्षेत्रमा पुस्तौनीदेखिको बाघको बाटो र बासस्थान भएकाले पनि आक्कल झुक्कल सिकार खेल्न आइरहने बाघ यसपालि भने यतै बसोबासका लागि डुलिरहेको हुनसक्छ ।’ बाघका लागि यो क्षेत्र सुरक्षित र आहारका लागि पर्याप्त भएका कारण पनि यही बस्न खोजिरहेको उनले बताए । बाघको मुख्य बासस्थान क्षेत्र कैलालीको बसन्ता अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको बताउँदै उनले भने,‘यो बाघ बसन्ताबाटै दुधियाहुँदै महेन्द्रराजमार्ग काटेर अण्डैया पुगेको हो ।’ अण्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगलै जंगल तालबन्दहुँदै सालघारी पुगेको छ । ‘शनिबार मात्रै बाघ सालघारी पुग्यो,’ स्थानीय अञ्जना घर्तीमगरले भनिन्,‘गाउँमै पुगेको बाघले झण्डै बच्चालाई छोपेको थ्यो, हल्ला ग¥यौँ र भाग्यो ।’ सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष सापकोटाले मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै भने,‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको छ, यही क्रममा आज तालबन्द नजिकैको बस्ती सालघारीमा देखियो ।’ बाघ विचरण गर्दै सालघारी क्षेत्रसम्म आइपुगेको उनी बताउँछन् ।
गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । बाघको पुस्तौनी बाटो र सिकार क्षेत्र रहेकाले विचरण गर्दै यहाँ आइपुगेको बाघ केही दिनदेखि यतै बसिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने,‘यो क्षेत्र बाघको पुस्तौदेखि बस्दै आएको ठाउँ हो, त्यही भएर पनि बाघ यहाँ घुमिरहन्छ ।’ बाघले आहाराका लागि पनि उचित र सुरक्षित स्थान भेटेपछि केही दिनदेखि यतै डुलिरहेको हुनसक्ने बताउँदै उनले भने,‘बाघको आहाराका लागि वन्यजन्तु पनि प्रसस्त छन्, त्यसमा पिउनका लागि पानीको स्रोतका रुपमा खोला छ, त्यसैले यो क्षेत्र बाघका लागि उचित र सुरक्षित भएको हो ।’
बाघ देखिएपछि केही दिनदेखि मसुरिया क्षेत्रका आम नागरिकमा त्रास बढेको बताउँदै उनले भने,‘यो बाघ नरभक्षी हैन, उसले देखाउने व्यवहारले पनि नरभक्षी नभएकाले त्रसित नहुन र आफू सुरक्षित रहनु नै उचित हुन्छ ।’ बाघ आफ्नो पुस्तौनी बाटो हुँदै विचरण गर्न यहाँ आइपुगेको उनी बताउँछन् । यस क्षेत्रमा बाघको ‘मुभमेन्ट’ बढेपछि क्यामेरा ट्रयापिङ थालिएको बताउँदै उनले भने,‘हामीले बाघको मुभमेन्ट बढेपछि क्यामेरा ट्रापिङ गरेर ‘लोकशन’ का साथै उसका क्रियाकलाप पत्ता लगाउन थालेका छौँ ।’ यो बाघ यस क्षेत्रमा कति बस्छ या बस्दैन भन्ने कुरा उसका क्रियाकलापबाट पत्ता लगाउन पनि क्यामेरा ट्रयापिङ गरिएको उनले बताए । बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको सो जंगलहुँदै बाघ अण्डैया–मट्कौना–तालबन्दहुँदै सालघारी पुगेको उनले बताए । ‘यो मार्ग बाघको पहिले देखिकै बाटो हो, त्यही बाटो हुँदै बाघ यहाँ आइपुगेको हो, यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन,’ उनले भने,‘बाघ आफ्नै बाटो फर्कन्छ, त्यसलाई जिस्काउनु तथा हो–होल्ला गर्नुहुँदैन ।’ पुस्तौदेखि बाघको बस्ने ठाउँ वरपर नै बाघ घुमिरहेको बताउँदै सापकोटाले भने,‘चुरेको तालबन्द, अण्डैया र कैलारी गाउँपालिकाको डोङपुर क्षेत्र बाघको पुस्तौदेखिको बसोबास क्षेत्र हो, यही क्षेत्रमा अहिले पनि बाघ आइपुगेका छन् ।’
बाघको मुभमेन्टको अध्ययन गर्न अहिले सो क्षेत्रमा १७ वटा स्वचालित क्यामेरा जडान गरिएको छ । सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुख चन्द्र भण्डारीले भने,‘यो बाघको मुख्य बासस्थान क्षेत्र भएकाले यहाँ आइपुगेको बाघको कहाँ–कहाँ मुभमेन्ट भइरहेको छ सो जानकारी लिन क्यामेरा ट्रयापिङमा राखेका छौँ ।’ आजमात्रै चार ठाउँमा क्यामेरा स्थान्तरण गरिएको बताउँदै उनले भने,‘बसन्ता करिडोरका सहायक मार्ग रहेको दुधिया–अण्डैया क्षेत्रमा पुराना क्यामेरा निकालेर पुनः अर्को स्थानमा स्तान्तरण गरेका छौँ ।’
गत आइतबार गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो । स्याउला ल्याउन जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । त्यसको दुई दिन अघि कैलारी गाउँपालिका–८, दुधियामा स्थानीय २८ वर्षिय दुर्गा चौधरी आक्रमणबाट घाइते भएका थिए ।
सुदूरपश्चिममा १९ बाघ !
सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेको गणनाले देखाएको छ । बाघ गणना–२०१८ अनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगल (लालझाडी, वसन्ता करिडोर) क्षेत्रमा १९ वटा पाटेबाघ रहेका छन् । ‘बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेका छन्,’ विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने,‘तिनै बाघ कहिले यता त कहिले उता आहाराको खोजीमा निस्केका हुनसक्छन् ।’ अण्डैया–तालबन्द–राजघाट क्षेत्र बाघको बासस्थानका लागि पुरानै ठाउँ भएका कारण पनि त्यहाँ बाघको ‘मुभमेन्ट’ हुनु नौलो कुरा नभएको उनी बताउँछन् ।
प्रकाशित: १० फाल्गुन २०७७ ०६:०८ सोमबार