समाज

सुविधाभोगी जनप्रतिनिधिबाट जनता निरास

कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पुर्‍याएर फर्किंदा बाटोबाट गाडीमा घाँस हालिएको थियो । छुट्टै घाँस बोक्न प्रयोग नगरिए पनि जनप्रतिनिधिको गाडीमा घाँस राख्नु अस्वाभाविक थियो ।

यति मात्र होइन, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरू आव सकिएपछि अनुगमनको नाममा कोरोनाबीच हुलहुज्जत गर्दै कर्णालीको विकट बस्ती नभई रमणीय ठाउँमा पुगे । त्यहाँ कुनै महत्वपूर्ण काम नभई घुम्ने उद्देश्य थियो । उनीहरू भदौ २६ गते कालीकोट हुँदै जुम्ला, मुगुको रारा, हुम्ला र बाजुराका रमणीय ठाउँ पुगे । राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका उनीहरूको चर्काे आलोचनासमेत भयो । यति मात्र होइन, राज्यको साधन र स्रोत दुरुपयोग हुँदा जनप्रतिनिधिसँग नागरिक निरास मात्र होइन, उनीहरूप्रति वितृष्णा पैदा भएको छ । सामान्य अपेक्षा राखेका जनताले आफ्नो अपेक्षा पूरा गर्नुको साटो जनप्रतिनिधि व्यक्तिगत धनदौलत र सुखसयलमा बढी केन्द्रित हुन थालेपछि जनप्रतिनिधिसँग जनताको वितृष्णा बढ्न थालेको हो ।

जनप्रतिनिधि राज्यको सम्पत्ति दुरुपयोग गरी मोजमस्तीमा रमाउलान् भन्ने कसैलाई विश्वास थिएन । जनताको सामान्य आधारभूत आवश्यकता परिपूर्तिसमेत पूरा गर्न नसकेको आरोप लागेका जनप्रतिनिधि बेलाबेलामा आउने विवादले जनताप्रतिको विश्वास झन् घट्दै गएको छ । जसले जनप्रतिनिधिलाई स्याबासी होइन, आलोचित बनाउन थालेको स्थानीय बताउँछन् । कतिपय कानुनले दण्डसजाय मानेका कुरा पनि जनप्रतिनिधि मुछिएका छन् । जसको उदाहरण सल्यान बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्र कुमाई हुन् । उनले बिहे गरेपछि स्थानीयले घरमा थुनेर राखेका थिए । तेस्रो बिहे गरेको भन्दै स्थानीयले प्रहरीमा जानकारी दिएपछि पक्राउ गर्न गएको प्रहरी टोली गाउँमा नपुग्दै उनी पत्नीसहित भागेका थिए ।

वडाध्यक्ष कुमाईले यसअघि दुईवटा बिहे गरेका छन् । जनप्रतिनिधि नै बहुविवाहमा संलग्न भएपछि सर्वसाधारणले उनीबाट वितृष्णाबाहेक अरूको महसुस गर्न पाएनन् । यति मात्र होइन, जनप्रतिनिधिका अत्यन्तै नजिकका मान्छे अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा पर्नु, चरम अनियमितता भएको भन्दै उजुरीको चाङ लाग्नुले पनि जनप्रतिनिधिप्रति स्थानीय सन्तुष्टि छैनन् ।  

व्यक्तिगत काममा पनि राज्यको सम्पत्ति र जनशक्ति प्रयोग गर्नु, जनप्रतिनिधिलाई भ्रष्टाचारको आरोप लाग्नु, जनप्रतिनिधि सुविधा भोगी हुनु, जनताका सामान्य मागसमेत पूरा नहुनु, कतिपय घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुलगायतले पनि जनप्रतिनिधिलाई हेर्ने जनताको नजर बदलिएको छ । पछिल्लो समय जनप्रतिनिधिप्रति जनताको वितृष्णा बढ्दै गएको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए । उनका अनुसार जनप्रतिनिधिमा एकाधिकारवादी सोच हुनु, जनमतको अवमूल्यन हुनु, दायित्वप्रति गैरजिम्मेवार हुनु, सार्वजनिक हितविपरीत जनप्रतिनिधिले काम गर्नु, अस्वाभाविक स्तरोन्नति हुनु, अख्तियारको दुरुपयोग गर्नु, कार्य कुशलताको अभाव, प्रशासनिक कुशलता नहुनु, संघीयता हुने कामका विषयमा तत्लो तहसम्म जनताको बुझाइ फरक पर्नु र सामूहिक भावनाको अभाव हुँदा जनप्रतिनिधिप्रति वितृष्णा बढ्दै गएको हो ।  

पहिला जनप्रतिनिधि थोरै हुने र सबै उनीहरूको पहुँचमा नहुँदा जनप्रतिनिधि आलोचनाबाट बच्ने गरेको नागरिक समाजका सदस्य खिम रेग्मीले बताए । ‘पहिला जनप्रतिनिधि कम हुँदा सबै उनीहरूको पहुँचमा हुँदैनथ्यो,’ उनले भने, ‘त्यसैले उनीहरूको जिम्मेवारीका विषयमा पनि ग्रामीण क्षेत्रका बासिन्दा अनविज्ञ थिए ।’ जसले गर्दा उनीहरूको आलोचना धेरै नभएको उनले बताए । ‘अहिले त समकक्षी नै जनप्रतिनिधि छन् । गाउँगाउँमा जनप्रतिनिधि छन् । जनता जनप्रतिनिधिका पहुँचमा छन्,’ उनी भन्छन्, ‘जनप्रतिनिधिको जिम्मेवारीका विषयमा तल्लो तहका मान्छेलाई पनि ज्ञान छ । जसले गर्दा पनि अहिले जनप्रतिनिधिप्रति वितृष्णा पैदा गरेको छ ।’  

पहिला चप्पल पड्काएर हिँड्ने व्यक्ति जनप्रतिनिधि भएपछि गाडीमा सवार गर्ने, खानपिनदेखि अन्य जीवनशैली परिवर्तन हुँदा जनता निरास छन् । अर्काे कुरा बेलाबेला हुने राजनीतिका घटना क्रमले पनि जनतामा त्यस्ता खालको मानसिकता पैदा गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निदाएझै गर्नु, सत्तापक्ष नेकपा माओवादीमा पदीय लोभलालचले पार्टी विभाजनसम्मको स्थितिमा पुग्नुले पनि वितृष्णा बढाउन अझ बढी बल पुर्‍याएको स्थानीयको भनाइ छ । जसको फलस्वरूप अहिले पार्टीले गर्ने सभा सम्मेलनमा जनताको उपस्थिति कम हुँदै गएको छ । पहिला जस्तो सभासम्मेलनमा जनताको उपस्थिति नहुँदा सांस्कृतिक कार्यक्रमसमेत समावेश हुने गरेका छन् । उक्त कार्यक्रममा जनताको उपस्थिति बढाउन कलाकारको प्रस्तुति अनिवार्य जस्तो बनाइएको हुन्छ ।

प्रकाशित: १ फाल्गुन २०७७ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App