समाज

सुदुरपश्चिम : बालिकाको जन्मदरमा कमी

सुदूरपश्चिममा छोरी भन्दा छोराको जन्मदर बढी

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको बालक–बालिका जन्म ग्राफ (प्रतिशतमा) । <br>

सुदूरपश्चिम प्रदेशमा सरदर जन्मने नवजात शिशुमा बालिका भन्दा बालक बढी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विगत चार वर्ष यताको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा बालिका भन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ ।  

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४\०७५ मा सुदूरपश्चिम प्रदेशमा जम्मा जन्मेका नवजात शिशु मध्ये ४७ दशमलव ६ प्रतिशत बालिकाको जन्म भएको थियो भने ५२ दशमलव ४ प्रतिशत बालक जन्मेका थिए । यस्तै आर्थिक वर्ष २०७५\०७६ मा बालकको अनुपात अघिल्लो वर्षको तुलनामा १ दशमलव ५ प्रतिशतले बढेर ५३ दशमलव ९ प्रतिशत भयो भने बालिकाको अनुपात १ दशमलव ५ प्रतिशतले घटेर ४६ दशमलव १ प्रतिशतमा झर्‍यो। यस्तै त्यो आर्थिक वर्षको तुलनामा अझ पछिल्लो आर्थिक वर्षमा बालकको जन्मदर बढ्दै गएको र बालिकाको जन्मदर घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ० दशमलव २ प्रतिशतले बढेर ५४ दशमलव १ प्रतिशतमा उक्लेको देखिन्छ भने बालिकाको जन्मदरको अनुपात ० दशमलव २ प्रतिशतले घटेर ४५ दशमलव ९ प्रतिशतमा झरेको छ । यस्तै चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा अघिल्लो वर्षको तुलनामा ० दशमलव ९ प्रतिशतले बढेर ५५ प्रतिशतमा बालकको जन्मदर बढेको देखिन्छ भने बालिकाको जन्मदर अनुपात ० दशमलव ९ प्रतिशतले घटेर ४५ प्रतिशतमा झरेको छ । यो अनुपात हेर्दा विगत चार वर्ष यता बालकको जन्मदर बढ्दै गएको देखिन्छ भने बालिकाको जन्मदर घट्दै गएको पुष्टि हुन्छ ।  

यस्तै सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७४\०७५ मा बालक २३ हजार ४ जना बालकको जन्म भएको थियो भने २० हजार ८ सय ६० बालिका जन्मेका थिए । यो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५\०७६ मा ४५ हजार १ सय ९० जन्मेका बालबालिका मध्ये २४ हजार ३ सय ६९ बालक र २० हजार ८ सय २१ बालिका रहेका थिए ।  ४५ हजार २ सय २२ नवजात शिशुको जन्म भएको आर्थिक वर्ष २०७६÷०७७ मा २४ हजार ४ सय ७२ बालक र २० हजार ७ सय ५० बालिका रहेका थिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ हजार ७ सय १३ नवजात शिशुमध्ये १५ हजार २ सय ३४ बालक र १२ हजार ४ सय ७९ बालिकाको जन्म भएको छ । जुन तथ्याङ्क हेर्दा बालक भन्दा बालिकाको जन्मदर घट्दो क्रममा रहेको छ ।  

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरुमा बालकको जन्मदर बढ्दो क्रममा छ भने बालिकाको जन्मदर घट्दो क्रममा रहेको देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले भने,‘बालकको जन्मदर बढ्दै जानु र बालिकाको जन्मदर घट्दो क्रममा हुँदा लैङ्गिक समानतामा उतार चढाव हुन्छ, जसले गर्दा यौनिक हिंसामा बढोत्तरी हुन्छ ।’ पुरुषको तुलनामा महिलाको संख्या घट्दै जाने हो भने वैवाहिक समस्या निम्तने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले भने,‘जसले गर्दा वैवाहिक सम्बन्धका लागि महिलाको कमी हुने र जनसंख्या घट्दो तथा स्थिर रहने सम्भावना हुन्छ ।’

अस्पतालमा पनि पहिलो बच्चा छोरा जन्मेका दम्पती दोस्रो सन्तान जे भए पनि (छोरा या छोरी) चाहने गरेको बताउँदै सेती प्रादेशिक अस्पताल धनगढीकी प्रसूति वार्ड इन्चार्ज यशोदा ढकालले भनिन्,‘यदि पहिलो सन्तान छोरी भएको खण्डमा दोस्रो सन्तान छोरा नै जन्माउन अवैधानिक तरिकाले भू्रण हत्यासम्म गर्ने गरेका छन् ।’ भू्रण पहिचान गर्न नपाइने कानुनी प्रावधान भए पनि दम्पतीहरुले लुकीछिपी भू्रण पहिचान गरेर छोरी देखिएमा हत्या गर्ने गरेका कारण पनि जन्मने नवजात शिशुमा छोरीको संख्या घट्दै गएको देखिएको उनी बताउँछिन् । अवैधानिकता रहेको भू्रण पहिचान विधिलाई  सरकारले कानुनी दायरामा ल्याएर भू्रण पहिचान गरी हत्या गर्नेलाई कारबाही गर्न सकेमा बालक र बालिकाको जन्मदरमा समानता आउने उनी बताउँछिन् । छोरा र छोरीलाई समान व्यवहारले हेर्ने र यसलाई पितृसत्तात्मक सोच परिवर्तन गरी जनचेतना फैलाउनु पर्ने उनले बताइन् । 

प्रकाशित: २१ माघ २०७७ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App