समाज

बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)

दुर्घटनामा परेको जिप । तस्बिरः नागरिक

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा सुर्नया गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७२ वर्षीय पार्वती चन्द, पाटन नगरपालिका–५ का ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्ण लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। दुर्घटनामा परी ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

तीव्र गति कारण जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटना परेर जिप चालक गोपाल कार्कीको टाउकोमा चोट लागेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ। गतको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीका लागि सोमबारदेखि ५ दिन सीमानाका खोलिएको हो।

प्रकाशित: ९ मंसिर २०७७ १०:२५ मंगलबार

बैतडी जिप दुर्घटना