समाज

लोकआस्थाको महापर्व छठः उपासकदेखि श्रद्धालुसम्मका लागि स्वास्थ्य सुरक्षा मापदण्ड

तस्बिरः मिथिलेश/नागरिक

मिथिलाबाट सुरु भएको मनाउने लोकआस्थाको महापर्वले पहाड–तराईको सम्बन्ध जोड्दै विश्वका विभिन्न भूभागमा मनाउन थालिएको छ । पछिल्ला दशकमा व्यापक रूपमा अन्य समुदाय, क्षेत्रमाझ आफ्नो स्थान बनाउने विश्वका पर्वहरूमध्ये छठ पनि मुख्य हो।  

छठको अनुष्ठान आयतन व्यापक रुपमा देखा पर्नुको कारण आस्थाप्रतिको आकर्षण हो। आमाको बिडो थामेर आठ वर्षदेखि छठ ब्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘यो लोकपर्वको मौलिकता आजपर्यन्त अक्षुण्ण रहिआएको छ।’ यादव भन्छिन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन्।’

ब्रतालुहरूले बुधबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी सुरु गरेको छठको दास्रो दिन आज खरना मनाइँदै छ। चोख्याइएको एक कोठामा खिर र केरालगायत मीठा पकवान केराको पातमा फिँजाएर ईश्वरको आराधना गरिन्छ। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि पूजनस्थलवरिपरि प्रसादको प्रतीक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँड्छन्।  

घरभित्रै दुईदिने आन्तरिक विधिपछि दीपावलीझैं झिलिमिली पारिएको जलाशय किनारमा शनिबार साँझ (सँझिया घाट) र आइतबार बिहान (भोरका घाट) ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचिनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिँदै आएको छ। यो पूर्णतया शाकाहारी पर्व भएकाले ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्।

सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीझैं माहोल हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।  

पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अघ्र्य दिन्छन्। मुख्य ब्रतालुले झैं लोक आस्थाका कारण परिवारजन, छरछिमेक एवं दर्शनार्थीले पनि पूजा गर्छन्। छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारसमेत मधेसवासीले छठको लोकगीत गाउँछन् या बजाउँछन्। बिहानको अन्तिम अघ्र्यपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ।

लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन ब्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरीयता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरूप सम्पन्नले पनि भीक्षा माग्ने परम्परा छ।

समानताको पर्व

दलित डुम एवं आदिवासीद्वारा निर्मित बाँसको ढाकी र नाङ्लोमा पूजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ। सिरहा–२ गोढियारीकी पूजा मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छन्। सोही पोखरीमा टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’ यो पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधिभित्र खुम्चिन पुग्छन्। ‘पूजासामग्री अन्य जातका मानिससँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्,’ उनी भन्छिन्, ‘सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।’ छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका मैथिलि भाषाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ।

सबै जातजातिको एकै थलो

लहान–१० का भूतनाथ उपाध्याय ६६ वर्षका भए। पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ। जान्नेबुझ्ने भएदेखि नै मातापिताले गर्दै आएको छठ पूजालाई भूतनाथले निरन्तरता दिँदै छन्। गोलबजार–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५६ वर्ष भयो। छोरा पाउन गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७० वर्ष पार गरिसकेकी उनलाई पछिल्लो चार वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन्। सासुले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ।

सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो। पहाडी समुदायले पनि उत्तिकै निष्ठाका साथ मनाउने क्रमले व्यापकता पाउँदै जानुले सामुदायिक सद्भावको मियोलाई समेत मजबुत बनाउँदै छ। बिहान उदाउँदो र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन्। ‘यो पर्व सामाजिक–सांस्कृतिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ।  

सिरहा नगरपालिका–२, गोढियारीकी लालझरी मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छिन्। यही पोखरीमा यस टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै संगै हुन्छन्। न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग। मलिक भन्छिन्, ‘छठका बेला हामी वर्षभरिको पीडा भुल्छौं।’

छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधीभित्र खुम्चिन पुग्छन्। मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एकअर्काको सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’

सूर्य उपासनाको परम्परा

छठ पर्व कुनै समय प्राचीन मिथिला र भुजपुरा भूभागमा मात्र प्रचलित थियो। कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हुँदै आयो । ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो । छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन । छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन। छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ।

अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। ब्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ। छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ।

किसानको श्रमको कदर

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ। गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, निम्बु, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी, झुत्रोसहितको नरिवल, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ। ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल) ले भने। उमेशले भने, ‘हाम्रो व्यापारको समय नै यही हो, त्यसपछि वर्षभरि बैठारी।’ माटोका भाँडा ‘सिजनल’ व्यापार भैसकेको उनी बताउँछन्। चौरचन (चौठीचान्द) अघि सुरु हुने यो व्यापार छठपछि बन्द हुन्छ।

छठ घाटमा स्वास्थ्य सुरक्षा मापदण्ड

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष प्रदेश २ को लहानलगायतका सहरमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ। जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो। सिरहाको लहान, जनकपुर, वीरगन्ज लगायतका पोखरी नदीलगायत स्थानमा समान्य साजसज्जा गरीएको छ। छठ घाटमा नहाय खायदेखि नै गुन्जीने छठका गीत यसपाली गुन्जीएका छैनन्। अधिकांश छठका घाटहरु सुनसान छन्। हजारौँ मानिस जम्मा भएर मनाउने गरिएको छठमा यसपालि सीमित मानिस मात्र घाटमा आउन आग्रह गरिएको छ।  

लहान स्थित ललकु मावि पोखरीको छठ घाटमा यसपालि उपाशक बाहेक दुई जना मात्र उपस्थित हुन आयोजकले अपील गरेको छ। छठ घाटमा आउने सम्पूर्णलाई मास्क अनिवार्य गरिएको छ। बालबालिकालाई सकेसम्म लिएर नआउन भनिएको छ। घठ घाटमा अर्घ्य चढाउनुअघि हात सेनिटाइज गर्नुपर्ने, उपाशकलाई अर्घ्यदिन एक जना मात्र घाटमा आउन भनिएको छ।

प्रकाशित: ४ मंसिर २०७७ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App