समाज

समाजले खोज्छ कोरोना नेगेटिभ रिपोर्ट

कोरोना भाइरसले संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलसन बसे। सुरुमा उनलाई लक्षण देखिँदा केहि अप्ठ्यारो भयो। तर, ती अप्ठ्यारो विस्तारै कम हुँदै जाँदा उनी एकसातामै स्वस्थ झैं बनिसकेका थिए। उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो, तर, कोरोनाको पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आउन भने उनलाई ३२ दिन कुर्नुप¥यो।  

सुरुका केही अप्ठेरा पछि नदोहोरिँदा पनि पौडेल घरबाट बाहिर निस्कन पाएनन्। किन त ? पौडेल भन्छन, ‘म त निको भइसकेको थिए। मलाई शारिरिक रुपमा कुनै समस्या थिएन। स्वास्थ्यकर्मीले १४ दिनपछि अरुलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए। तर, समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अवस्थाले मलाई महिनादिन घरभित्रै राख्यो।’ नेगेटिभ रिपोर्टकै पर्खाइमा ३२ दिनसम्म घरभित्र थुनिएर बस्नुपरेको उनी बताउँछन्।  

स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुन परीक्षण पनि गराउनु पर्दैन। संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नु नपर्ने गरि छुटकारा पाउने निर्णय पनि गरिसकेको छ। तर, नागरिकहरु भने नेगेटिभ रिपोर्टको पर्खाइमा एकमहिना भन्दा बढी समयसम्म घरभित्रै थुनिएर बस्नुपरेको छ। कुनै शारिरिक समस्या नहुँदा पनि नेगेटिभ रिपोर्टकै पर्खाइमा महिनादिन भन्दा बढी समय घरभित्र थुनिएर बस्नुपरेको उनीहरुको भनाई छ।

‘स्वास्थ्यकर्मीले कुनै लक्षण नभएका संक्रमित १४ दिनपछि निको भए सरह बाहिर डिडडुल गर्न सक्ने भनिरहेपनि मनले नमान्ने रहेछ,’ पौडेलले भने, ‘नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हावी हुने रहेछ।’ समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण पनि यो अवस्था आएको उनले बताए। ‘संक्रमणको कुरा समाजले थाहा नपाए त केही समस्या भएन। तर जब समाजले संक्रमितबारे थाहा पाउँछ, त्यो बेला नेगेटिभ रिर्पाेटबारे चाँसो राख्छ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो की आएन भनेर बारम्बार एकअर्कासँग कानेखुसी गर्ने चलन छ। समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प भएन।’  

नेगेटिभ रिपोर्ट लिएर नहिड्दासम्म कोरोना संक्रमितको बिल्ला भिर्नुपर्ने उनले बाध्यता सुनाए। ‘संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजि हुने रहेछ। त्यसबाहेक परिवारलाई पनि संक्रमण सर्छ की भनेर मनले नै नेगेटिभ रिपोर्ट माग्दो रहेछ,’ उनले भने, ‘समाजलाई देखाउनका लागि पनि नेगेटिभ रिपोर्ट आवश्यक प¥यो।’  

गण्डकी प्रदेशका सदस्य दीपक कोइराला २२ दिनदेखि होम आइसोलेसनमा छन्। कोइराला सुरुका १४ दिन त होटलमा आइसोलेसन बसे। १४ दिनपछि अरुलाई संक्रमण नसर्ने भनेपछि उनी घर फर्किए। तर, बाहिर हिडडुल गर्न उनलाई बाटो अझै खुलिसकेको छैन। ‘२२ औं दिनमा गरेको परीक्षणले पुन पोजेटिभ रिपोर्ट देखायो, त्यही भएर नेगेटिभ रिपोर्टको पर्खाइमा छुु,’ कोइरालाले भने, ‘म पुर्ण रुपमा स्वस्थ छु। तर मलाई बाहिर हिडडुलका लागि नेगेटिभ रिपोर्ट प्रमाण चाहिएको छ।’  

नेगेटिभ रिपोर्ट नआएसम्म समाजले संक्रमितकै पहिचान दिलाउने भएकोले पनि घरबाहिर निस्कन नसकेको उनले बताए। ‘१४ दिनपछि संक्रमण सर्दैन भन्ने थाहा पाएरै म घर भित्रिए। संक्रमण सर्दथ्यो भने म पनि परिवारलाई जोखिममा पार्न चाहन्नथे,’ उनले भने, ‘तर समाजको सोचाँइ बदल्न सकिएन। नेगेटिभ रिपोर्ट समाजलाई चाहिएको छ।’ २२ दिनमा परीक्षण गराउँदा पनि पोजेटिभ रिपोर्ट आएकोले अब अझै एकसाता घरभित्रै बस्नुको विकल्प नभएको उनले बताए। ‘समाजलाई बुझाउन उत्ति सहज छैन। मेरो रिपोर्ट के कस्तो आयो भन्ने चाँसो छिमेकी र समाजलाई छ,’ कोइरालाले भने।  

पत्रकार अमृत सुवेदी पनि नेगेटिभ रिपोर्टको पर्खाइमा ३२ दिनसम्म होटलमा आइसोलेसन बस्न बाध्य भए। लामो समयसम्म होटलमा आइसोलेसन बस्दा महंगो रकम खर्च भएको पनि उनले बताए। ‘३२ दिनसम्म होटलमा बस्न बाध्य हुनुमा नेगेटिभ रिपोर्टको पर्खाइ थियो। किनकी मलाई डेरामा छिर्दा घरबेटीले नेगेटिभ रिपोर्ट खोज्ने अवस्था थियो,’ सुवेदीले भने, ‘नेगेटिभ रिपोर्ट पर्खिदा महिनादिनसम्म होटलमा बस्दा सकस भयो। शारिरिक रुपमा केही समस्या थिएन। लक्षण नहुने व्यक्ति १४ दिनपनि घरबाट बाहिरिन सक्ने भन्ने थाहा पनि थियो। तर समाज, घरबेटी र छिमेकीका लागि कोरोनाका नेगेटिभ रिपोर्ट अनिवार्य बन्यो। त्यही रिपोर्ट कुर्दै महिना बित्यो।’  

कोरोना संक्रमण भएपछि अधिकांश संक्रमितको रिपोर्ट केही दिनमै नेगेटिभ आउने भएपनि कतिपयको भने महिनादिन भन्दा बढी समय लाग्ने गरेको छ। त्यसले गर्दा नेगेटिभ रिपोर्टको पर्खाइमा रहेका संक्रमित बढि समय तनावमा बस्नुपर्ने उनीहरुको भनाई छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार संक्रमण पुष्टि भएको १२ देखि १४ दिनपछि दोहो¥याएर परीक्षण गर्दा झन्डै ७० प्रतिशत संक्रमितको रिपोर्ट नेगेटिभ आउने गरेको छ।’ 

बाँकीको रिपोर्ट बारम्बार पोजेटिभ आउँदा आइसोलेसनमा बसेका संक्रमित बढी चिन्तित हुने गरेको उनले बताइन। ‘दुई महिनासम्म पनि नेगेटिभ रिपोर्ट नआएर घरभित्रै बस्नुपरेको छ। ती व्यक्तिमा कुनैपनि शारिरिक समस्या छैन, तर, समस्या नहुँदा पनि नेगेटिभ रिपोर्ट आउँन दुई महिनासम्म लागेको छ,’ सुवेदीले भनिन्, ‘मरेको भाइरसका कणका कारण वा  जिवित भाइरसका कारण पनि दोहोरिएर पोजेटिभ आउँछ। तर, १४ दिन कटेपछि संक्रमण नसर्ने भन्ने पुष्टि भइसकेकोले लक्षण नभएका व्यक्तिबाट डराउनुपर्ने अवस्था होइन।’ कतिपय स्थानीयतहका जनप्रतिनिधिले नै आइसोलेसनमा बसेका व्यक्तिलाई नेगेटिभ रिपोर्ट अनिवार्य भनेकोले पनि लामो समयसम्म नेगेटिभ रिपोर्टको पखाई हुने गरेको उनले बताईन।  

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्मा भने संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले परीक्षण गर्नु नपर्ने बताउँछन्। ‘व्यक्तिका लागि भन्दा पनि समाजका लागि नेगेटिभ रिपोर्ट चाहिएको छ। नेगेटिभ रिपोर्ट चाहिने त्यो सोँचाई बदल्न सकिएको छैन,’ शर्माले भने, ‘समाजले नमान्नु स्वभाविक हो। किनकी यो बारेमा पहिल्यैदेखि अन्योल भएकाले यो अवस्था आएको हो। अव सबैलाई सचेत गराउनुपर्छ। १४ दिनपछि लक्षण नभएका व्यक्ति सुरक्षित छन भनेर मिडिया एडभोकेसी बढाउनुपर्छ।’  

पोजेटिभ भएपनि १४ दिनपछि संक्रमण सर्दैन भन्ने प्रमाणित भएकोले लक्षण नभएका व्यक्तिबाट डराउनु नपर्नेगरि चेतनामुलक कार्यक्रम आवश्यक भएको उनले बताए। ‘होम आइसोलेसनमा बसेका व्यक्तिमा १४ दिनपछि लक्षण छैन भने थप परीक्षण पनि गराउनुपर्दैन,’ उनले भने, ‘तर, अहिले यो पक्षमा समाज सहमत हुन सकेको छैन। यसबारेमा सचेतना फैलाउन जरुरी छ।’  

प्रकाशित: २५ कार्तिक २०७७ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App