समाज

गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई पक्राउ

गाँजा तथा सुर्ती प्रशोधन एबं विक्री वितरणमा संलग्न सुवास राई र अविन नेपालीलाई सार्वजनिक गर्दै डिएसपी नारायणप्रसाद चिमरिया लगायत । तस्बिर : दमन राई/नागरिक

खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन्। घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।  

घरैमा गाँजा तथा सुर्ती प्रशोधन गरेर अवैध बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सुर्ती, सुर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। राईको घरबाट अवैधरुपमा गाँजा तथा सुर्ती प्रशोधन गर्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षकको कमाण्डमा खटिएका संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए।  

राईको घरबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ (काट्ने हतियार) बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राई र नेपालीलाई अवैध लागुऔषध तथा सुर्तीसहित बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। उनीहरु विरुद्ध लागुऔषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको डिएसपी चिमरियाले बताए। नेपालीले भने गाँजा तथा सुर्ती प्रशोधनका लागि कामदारको रुपमा काम गर्दै आएको खुलेको छ। बरामद भएको सुर्ती तथा सुर्तीजन्य पदार्थ कारबाहीका लागि करदाता सेवा कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।  

ईजाजत नलिइ सुर्ती उत्पादन गरेको, नक्कली स्टीकर र ब्राण्ड लगाएको तथा अन्तशुल्क स्टीकर नटाँसी बिक्री वितरण गरेको पाइएकाले उनीहरुलाई कानून अनुसार कारबाही हुने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए।

प्रकाशित: २९ आश्विन २०७७ ०७:४१ बिहीबार