समाज

निर्मलाको हत्या कि आत्महत्या? यस्तो छ एक अध्ययनकाे निष्कर्ष

कैलाली घोडाघोडी– ४ की २३ वर्षीय पत्रकार निर्मला पहराइको आत्महत्या नभइ हत्या भएको स्थलगत अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ। क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले शनिबार प्रतिवेदन सार्वजनिक गर्दै घटनाका दोषी उपर कारवाही गर्न माग गरेको छ। संघको अध्ययन टोली असोजको पहिलो साता घटनास्थल पुगेको थियो।  

स्थानीय कैलाली एफएममा कार्यरत निर्मला पहराई भदौ ३१ गते सोही एफएममा कार्यरत ललित जाग्री र जाग्रीको नयाँ पे्रमिका भनिएकी साउद थरकी युवतीलाई भेट्न जान्छु भन्दै कोठाबाट हिंडेकी थिइन्। निर्मलाकी दिदी कृष्णाकाअनुसार त्यही दिनदेखि निर्मला वेपत्ता भएकी थिइन्।  आफन्त, प्रहरी  तथा ललित जाग्रीसहितले खोजी गर्दा असोज २ गते घोडाघोडी नगरापलिका – ५ को फूलबारी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

खोजीको क्रममा ललितले नै माथिको जंगलतिर खोज्छु भनेको र सोही क्षेत्रमा झुण्डिएको अवस्थामा निर्मला फेला परेकोले घटनामा उनको सहभागीता रहेको निर्मलाका दाइ विशालको दाबी छ। निर्मलाको शव ललितको घरदेखि करिव ४ सय मिटर टाढा भेटिएकोले पनि घटनामा ललितको संलग्नताको संकेत गर्ने अध्ययनमा सहभागी एलबी विश्वकर्माले बताए। 

 

यो पनि पढ्नुहोस्

निर्मलाको हत्या गरिएको आफन्तको दाबी

 

प्रतिवेदन अनुसार मृतक निर्मला र जाग्रीबीच लामो समयदेखि पे्रम सम्बन्ध थियो। अन्तिममा ललिलतले निर्मलाई विवाह गर्न नमानेपछि विवाद बढेको थियो।  

पहराई झुण्डिएको रुख नजिकै छाता र चप्पल भेटिनु, घटनास्थलदेखि २७ मिटर टाढा घडी भेटिनु, घाँटीमा बाँधिएको पासोमा सुर्के गाँठो नभेटिनु, पासो घाँटीमा कस्सिएको नभई एक हात पस्ने खाली ठाउँ हुनु, घडी भेटिएको ठाउँमा निर्मलाको भन्दा अर्को ठूलो पाइलाको डोब हुनु र संगै बोकेको मोबाइल अहिलेसम्म नभेटिनुले घटना हत्यापछि झुण्डयाइएको हुनसक्ने अध्ययनले औल्याएको छ। ‘अलिहेसम्म मौवाइल नभेटिनुले अपराधीले प्रमाण नष्ट गर्नको लागि मोवाइल जफत गरेको हुनसक्छ’ प्रतिवेदनमा भनिएको छ।  

क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले घटनास्थलमै पुगेर स्थलगत अध्ययन गरेको थियो। संघले प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न तथ्यहरुले निर्मलाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने निष्कर्ष निकालेको छ। 

त्यसैगरी घरबाट निस्केको दिन जाग्री र उनको नयाँ पे्रमिका भनिएकी साउदसंग फोनमा कुराकानी भएको उनकी दिदीले सुनेकी थिइन्।

ललितकी नयाँ पे्रमिका भनिएकी साउदसँग फोनमा विवाद भएको सुनेको दिदीले बताइन्। ‘फोन सम्वादमा लामो विवादपछि ललितले नै भेट्न बोलाएको र त्यसपछि निर्मला मृत फेला परेकोले घटनामा ललितकै संलग्नता रहेको दाबी दिदी कृष्णाको पनि छ।’ प्रतिवेदनमा उल्लेख छ।

ललित ३१ गते ४ देखि ५ बजेको समयमा घरबाहिर माटो लिन गएको परिवारजनको भनाइ छ। तर पक्की घरमा माटो लिनु पर्ने औचित्य नखुलेको अध्ययनमा उल्लेख छ।  

 

यो पनि पढ्नुहोस्

संचारकर्मी मृत फेला, हत्या गरेर झुण्ड्याइएको आफन्तको दाबी

 

ललितकी नयाँ पे्रमिका भनिएकी साउद पनि सोही दिन सुखडमा हुनुले उनको पनि संलग्नता हुनसक्ने आशंका प्रतिवेशनमा छ। उनले सुखडमा दाइसँग छु भनेको भए पनि  को दाइ भन्ने नखुलेको प्रतिवेदनमा उल्लेख छ।  

ललित र साउदकै योजनामा बनेको हुनसक्न दाबी गर्दै प्रतिवेदनमो अपराध अनुसन्धानका बिज्ञ लिएर घटनाको छानविन हुनु पर्ने सुझाइएको छ।

निर्मलाको शवमा नीलो दाग देखिएकोे र प्रहरीले त्यो दागको फोटो खिच्न नदिएकोले पनि प्रतिवेदनमा उल्लेख छ। प्रहरीले नै अनुसन्धान गर्ने आश्वस्त पारेर उनको शव जलाउन लगाउनु, निर्मलासंग पाँच वर्षदेखि पे्रम सम्वन्धमा रहेका ललितले जातकै कारण उनको पे्रम सम्बन्धबाट टाढा हुँदै जानुले अन्तरजातीय कारणले पे्रम सम्वन्ध अपराधको बाटोमा पुगेको प्रतिवेदनमा उल्लेख छ।  

पे्रम सम्बन्धको अवधिमा आफू बसेको डेरामा पटक–पटक संगै लगेको र त्यो वीचमा तीन दिनसम्म डेरामै राखेर यौन सम्पर्क गरेको पनि बयानको क्रममा खुल्न आएको छ। घटनाको दुई साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पोस्टमार्टम रिपोर्ट परिवारलाई जानकारी नगराएको र  छिटो जानकारी गराउन माग गरेको छ।

घटनापछि स्थानीय प्रहरीले ललित र उनकी पे्रमिकालाई पक्राउ गरेको छ। क्रियाशील दलित पत्रकार संघ नेपाल, कैलाली जिल्ला समितिकी सह–सचिवसमेत रहेकी पत्रकार निर्मला पहराईको घटना स्थलगत अध्ययन, शवलगयात अन्य प्रमाणको आधारमा निर्मलाको मृत्युको कारण आत्महत्या नभई हत्या भएको संघले निकालेको छ। त्यसकारण घटनाको दोषी उपर कारवाही गर्न थप विज्ञसहित खोज अनुसन्धान गरी दोषी उपर कारबाही गर्न संघले माग गरेको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०३:५१ सोमबार

आत्महत्या निर्मला पहराइ