समाज

बलात्कार आरोपमा वडा सचिव पक्राउ

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिवलाई बलात्कार आरोपमा पक्राउ गरेको छ। भंगहा नगरपालिका–९ कि ३५ वर्षीया महिलालाई करणी गरेको प्रारम्भिक जानकारीको आधारमा बुधबार राती ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरिएको छ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले नागरिकसँग भने,‘महिलामाथि जबर्जस्ती करणी भएको हो वा करणी उद्योग यकीन भएको छैन। महिलाको जाहेरी आएपछि बाँकी कुरा प्रष्ट हुन्छ।’ पीडित महिलाको स्वास्थ्य परीक्षण गराइएको छ। स्वास्थ्य परीक्षण प्रदिवेदन, महिलाको जाहेरी र प्रहरीको अनुसन्धानबाट जे खुल्छ त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने एसपी केसीले बताए। आरोपित वडा सचिव यादवलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ एसपी केसीले भने,‘पीडित महिलाको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’  

 

 

प्रकाशित: १५ आश्विन २०७७ ०६:२१ बिहीबार

बलात्कार पक्राउ