समाज

काठमाडौंका यी युवा भन्छन् : सम्झना विकका बलात्कारीलाई कार्बाही नहुँदासम्म आन्दोलन जारी रहन्छ

सम्झना विकका बलात्कार/हत्यारालाई कडा कार्बाही माग गर्दै शनिबार काठमाडौंको कीर्तिपुरमा युवा तथा विद्यार्थीले गरेको सांकेतिक विरोध प्रदर्शन। तस्बिर : रामलाल राजवंशी विकेबाट

बझाङको मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कार्बाही माग गर्दै काठमाडौंमा युवा तथा विद्यार्थीले सांकेतिक विरोध प्रदर्शन गरेका छन्।  

विभिन्न संघ/संगठनमा आबद्ध युवा तथा विद्यार्थीले कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा बलात्कारीलाई फाँसी दे, सम्झनालाई न्याय दे, बलात्कारीलाई कडा कार्बाहीका लागि नयाँ कानुन जारी गर, लैंगिक हिंसा अन्त्य गर, सबै खाले विभेद अन्त्य गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।  

शनिबार गरिएको यस प्रदर्शनपछि स्तब्ध सभा आयोजना गरी सम्झना विकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको विद्यार्थी नेता रामलाल राजवंशी विकेले नागरिकन्युजलाई जानकारी दिए।  

पुरुषवादी चिन्तन, पितृसत्तात्मक सोच र जातीय अहंकारले सम्झना विकको हत्या भएको कार्यक्रममा सहभागी बाबुराम विकले बताए।  

निर्मला पन्त, माया विकका हत्यारालाई राज्यले कार्बाही गर्न नसक्दाको परिणाम आज सम्झना विकले भोगेको कार्यक्रमका संयोजक रवि सेन्चुरी बताए। सम्झना विकको हत्यारालाई कडा कार्बाही नहुँदासम्म आन्दोलन जारी राख्ने सेन्चुरीको भनाइ छ।  

 

यो पनि पढ्नुहोस्

चारदिनदेखि सम्झनाको शव उठेन

 

प्रकाशित: ११ आश्विन २०७७ ०९:४१ आइतबार

बलात्कार सजाय