कोरोना संक्रमित झापाका एक वृद्धको उपचारका क्रममा बुधबार मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा मृत्यु भएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाझापाको भद्रपुर–१० का ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ ३ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरेर स्वाब पिसिआर परीक्षण गर्न पठाइएको थियो।
अस्पतालको आइसोलेसनका प्रमुख डाक्टर पुरु कोइरालाका अनुसार ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको हो। वृद्ध पुरुषको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारेर उपचार गर्दागर्दै बुधबार मृत्यु भएको डाक्टर कोइरालाले बताए।
‘वृद्धलाई भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या थियो,’ डाक्टर कोइरालाले भने, ‘निमोनियाले ग्रस्त पारेका कारण र मधुमेहको पुरानै समस्याले गर्दा आइसियूमा राखेर उपचार गर्दागर्दै वृद्धलाई बचाउन सकेनौं ।’
यससँगै प्रदेश १ मा हालसम्म ५७ जनामध्ये ४० पुरुष र १७ महिला संक्रमतिको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०७७ ०६:२९ बुधबार